काठमाडौँ । डेंगु सङ्क्रमण ७३ जिल्लामा फैलिएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत ईपिडिमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गएको पुस महिनायता १ हजार ९ सय ९७ जना डेंगु सङ्क्रमणका बिरामी भेटिएका छन् ।
सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा १२ जना नयाँ सङ्क्रमित थपिएका छन् भने पछिल्लो एक हप्तामा ९५ जनामा सङ्क्रमण देखिएको उल्लेख गरिएको छ ।
यस्तै, गण्डकी प्रदेश सबैभन्दा बढी प्रभावित देखिएको छ । जहाँ हालसम्म ४ सय ९५ जनामा डेंगु सङ्क्रमित भएका छन् । बागमती प्रदेश ४ सय ५४ जना सङ्क्रमितसहित दोस्रो स्थानमा छ ।
अन्य प्रदेशहरूमा कोशीमा ३ सय ७५, लुम्बिनीमा ३ सय ३२, सुदूरपश्चिममा २ सय ६६, मधेसमा ३८ र कर्णालीमा ३७ जनामा सङ्क्रमण देखिएको छ ।