इलाम । प्रधानमन्त्री केपी शर्मा ओलीले इलामको माई नगरपालिकामा निर्मित अस्पताल शनिबार (असार २८) उद्घाटन गरेका छन् । उनले माई नगरपालिका–२, दानाबारीमा निर्मित १५ शय्याको ‘माई नगर अस्पताल’ उद्घाटन गरेका हुन् ।
आर्थिक वर्ष २०७७/०७८ देखि उक्त अस्पताल निर्माण थालिएको थियो । अस्पताल निर्माणमा संघ सरकारको १० करोड ७० लाख २४ हजार रुपैयाँ खर्च भएको नगर प्रमुख खम्बासिंह लिम्बूले बताए ।
साढे १० रोपनी क्षेत्रफलमा पार्किङसहितको दुई तलाको अस्पताल निर्माण गरिएको छ । नवनिर्मित अस्पताल भवनबाट शनिबारदेखि नै स्वास्थ्य सेवा सुरु गरिएको छ । २४सै घण्टा सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको माई नगर स्वास्थ्य शाखा प्रमुख पुष्कर कट्टेलले बताए ।
अस्पतालबाट आकस्मिक, आधारभूत प्रयोगशाला, एक्स–रे, भिडियो एक्स–रे, ईसीजी, फार्मेसीलगायत सेवा सञ्चालन गरिएको उनले जानकारी दिए ।
अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम समेत लागु गरिएको छ ।
नगरपालिकावासीको आधारभूत स्वास्थ्य उपचार पालिकाभित्र उपलब्ध गराउने र जटिल प्रकारका बिमारीलाई अरू सुविधासम्पन्न अस्पतालमा ‘रेफर’ गरेर जानुपर्ने भएकाले स्वास्थ्य बिमा कार्यक्रम पनि लागु गरिएको नगर प्रमुख लिम्बूले बताए ।