काठमाडौं । उपभोक्ता अदालतसम्बन्धी विषयमा असन्तुष्टि जनाउँदै नेपाल चिकित्सक संघले घोषणा गरेको चरणबद्ध आन्दोलनको अन्तर्गत मंगलबार पनि देशभरका अस्पतालहरुमा आकस्मिक र सघन उपचारबाहेकका सेवाहरु बन्द हुने भएका छन्।
चिकित्सक संघले सोमबार विज्ञप्ति जारी गर्दै सोमबार जस्तै मंगलबार पनि अकस्मिक एवं सघन उपचार बाहेकका अन्य सम्पूर्ण सेवाहरु बहिष्कार गर्न आह्वान गरेको छ। संघको आह्वानमा सोमबार देशभरका अस्पतालमा इमर्जेन्सीबाहेकका सेवा ठप्प भएको थियो। जसका कारण बिरामीहरुले सास्ती खेप्नु परेको छ।
मंगलबार अस्पतालको सेवा बन्दसहित संघले काठमाडौंको माइतीघरमा प्रदर्शन गर्ने कार्यक्रम समेत सार्वजनिक गरेको छ। संघले बिहान ११ बजे उपत्यका भित्रका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई माइतीघर मण्डलामा एवं उपत्यका बाहिरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई सम्बन्धित प्रदर्शन स्थलमा भेला भई धर्ना दिन आह्वान गरेको छ।