अछाम। अछामको बयलपाटा अस्पताल सुदूरपश्चिम प्रदेश सरकारको स्वामित्वमा आएको छ। जिल्लाको साँफेबगर नगरपालिका–७ बयलपाटामा रहेको अस्पतालको पूर्ण स्वामित्व सुदूरपश्चिम सरकारले ग्रहण गरेको हो।
वि.सं. २०८२ साल भदौ १ गतेदेखि अस्पताल पूर्ण रूपमा सुदूरपश्चिम सरकारको मातहतबाट सञ्चालनमा आउने गरी भएको सम्झौता अनुरूप प्रदेश सरकारले स्वामित्व ग्रहणको प्रक्रियाले औपचारिकता पाएको छ। सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयमा अस्पतालको स्वामित्व हस्तान्तरणसम्बन्धी सम्झौता पत्रमा न्याय हेल्थ नेपालका तर्फबाट कुन्दन दीक्षित र सामाजिक विकास मन्त्रालयका सचिव डा. हेमराज रेग्मीले हस्ताक्षर गरेका छन्।
विगत एक दशकभन्दा बढी समयदेखि न्याय हेल्थ नेपालद्वारा सञ्चालित बयलपाटा अस्पतालले सुदूरपश्चिमका दूरदराजका जिल्लाहरूमा निःशुल्क, गुणस्तरीय र अत्यावश्यक स्वास्थ्य सेवा पु¥याउँदै आएको छ। तर, अब प्रदेश सरकार आफैँले संस्थागत रूपमा जिम्मेवारी लिन थालेसँगै यो अस्पतालको आगामी यात्राले नयाँ मोड लिने अपेक्षा गरिएको छ। सुदूरपश्चिमका सामाजिक विकास मन्त्री मेघराज खड्काले अब बयलपाटा अस्पताललाई संस्थागत, उत्तरदायी र पारदर्शी ढङ्गले सञ्चालन गर्ने बताए।
अस्पताललाई प्रदेश सरकार मातहतको ५० शय्याको प्रादेशिक अस्पतालको रूपमा सञ्चालन गर्ने गरी स्वामित्व हस्तान्तरण र ग्रहणसम्बन्धी १७ बुँदे सम्झौता भएको छ।