काठमाडौं । अछामको साँफेबगर नगरपालिकामा अवस्थित बयालपाटा अस्पतालमा जापान सरकारले प्रदान गरेको मेडिकल उपकरणको हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
मंगलबार जापान सरकारको ग्रासरुट मानव सुरक्षा परियोजना ( जीजीपी) अन्तर्गत, बयालपाटा अस्पतालमा ट्रमा तथा अस्थि उपचार सेवा प्रवाहका लागि आवश्यक मेडिकल उपकरण स्थापनाको लागि ६६,२६३ अमेरिकी डलर (झण्डै ८९ लाख नेपाली रुपैयाँ) बराबरको अनुदान प्रदान गरिएको हो ।
बयालपाटा अस्पताल न्याय हेल्थ नेपाल नामक गैरसरकारी संस्थाले प्रदेश र स्थानीय सरकारसँगको सहकार्यमा अछाम, बझुरा, डोटी (सुदूरपश्चिम प्रदेश) तथा कालीकोट र दैलेख (कर्णाली प्रदेश) जिल्लाका लागि प्रमुख स्वास्थ्य संस्थाका रूपमा सञ्चालन गर्दै आएको छ ।
सो अवसरमा नेपालका लागि जापानी कार्यवाहक राजदूत तमुरा ताकाहिरोले परियोजनाको सफल कार्यान्वयनमा संलग्न सबै पक्षको प्रयासप्रति प्रशंसा व्यक्त गर्दै, उक्त सहयोगले ग्रामीण क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच वृद्धि हुनुका साथै जापान र नेपालको जनस्तरीय सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरे ।
जीजीपी कार्यक्रम जनस्तरमा प्रत्यक्ष लाभ पुग्ने परियोजना कार्यान्वयन गरी देशको सामाजिक–आर्थिक विकासमा योगदान पुर्याउने उद्देश्यले स्थापना गरिएको हो । सन् १९९१ देखि हालसम्म नेपालमा २०० भन्दा बढी जीजीपी परियोजनाहरू कार्यान्वयन भइसकेका छन्।