धनगढी । सेती प्रादेशिक अस्पतालले निःसन्तान उपचार केन्द्र स्थापना गरेर सेवा सञ्चालनमा ल्याएको छ । सुदूरपश्चिम प्रदेशमै पहिलो पटक सेती प्रादेशिक अस्पतालले सेवा सञ्चालनमा ल्याएको हो ।निःसन्तान उपचार केन्द्रको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डेले शुक्रबार उद्घाटन गरेका हुन् । प्रादेशिक अस्पतालले स्थापना गरेको सेवा औपचारिक सञ्चालनमा आएको समेत उनले घोषणा गरेका छन् ।
केन्द्र संघीय र प्रदेश सरकारको सहयोगमा स्थापना गरिएको हो । प्रदेश सरकार र संघिय सरकारको लगानी सहायतामा केन्द्र सञ्चालनमा आएको उद्घाटन गर्दै मेसु डाक्टर पाण्डेले बताए ।उनले गत वर्ष नै निःसन्तान उपचार केन्द्र सञ्चालन गर्ने तयारी भए पनि केही प्राविधिक समस्याले हुन नसकेको जानकारी दिए । सुदूरपश्चिम प्रदेशमा सेवाको अभावका कारण निःसन्तान दम्पतीहरू उपचारका लागि काठमाडौं तथा भारत जाने गरेका थिए ।
अब उक्त बाध्यता अन्त्य भएको छ । भारत र काठमाडौं गएर महँगो खर्च तिर्नु पर्ने बाध्यता हटेको छ , सहज र सुलभ रूपमा धनगढीमै सेवा लिन सकिने उनले बताए । प्रादेशिक अस्पतालले निःसन्तान भएका दम्पतीलाई साढे ७ हजारको प्याकेजमा उपचार पाउने बताएको छ । प्रादेशिक अस्पतालको स्त्री तथा प्रसूति रोग विभाग प्रमुख डाक्टर विशेषज्ञ डाक्टर खगेन्द्र भट्टले निःसन्तानपन सम्बन्धी समस्याका विभिन्न किसिमका उपचार पद्धति रहेको बताउँदै अहिले आधारभूत तहको आईयुआई सेवा सुचारू गरिएको बताए ।