काठमाडौँ । नेपालमा सबैभन्दा बढी नयाँ कुष्ठरोगका बिरामीहरू मधेश प्रदेशमा फेला परेका छन् । बिहीबार काठमाडौँमा कुष्ठरोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले यस्तो जानकारी गराएका हुन् उनका अनुसार मधेश, लुम्बिनी र कोशी प्रदेशमा क्रमशः रोगको उच्च भार रहेको छ । सबैभन्दा बढी नयाँ कुष्ठरोगका बिरामीहरू मधेश प्रदेशमा देखिएका छन् ।
‘‘कुष्ठरोग निवारणका लागि रोगको प्रकोप दर एकभन्दा कम हुनुपर्छ । यानकी प्रति १० हजार जनसङ्ख्यामा एक जनाभन्दा कम व्यक्ति रोगी रहेको अवस्था हुनुपर्दछ ।
मधेश प्रदेशमा कुल केसको एक तिहाईभन्दा बढी रहेका छन् । दोस्रो सबैभन्दा बढी केसहरू लुम्बिनी प्रदेशमा रहेका छन् । जहाँ कुल केसको एक चौथाईभन्दा बढी रोगीहरू रहेको सचिव डा। देवकोटाले बताए ।
आर्थिक वर्ष २०८०/०८१ को अन्त्यसम्म नयाँ फेला परेका दुई हजार चार सय ७२ कुष्ठरोगीहरूमध्ये महिलाको सङ्ख्या एक हजार ४२ रहेको बताए । १४ वर्ष मुनिका नयाँ बिरामीको सङ्ख्या एक सय ३६ रहेको उनको भनाइ छ ।
सचिव देवकोटाले पहिचान रहेका सबै कुष्ठरोगका बिरामीहरू उपचाररत रहेको बताए । उनका अनुसार कुष्ठरोग निवारणका लागि रोगको प्रकोप दर एकभन्दा कम हुनुपर्छ । प्रति १० हजार जनसङ्ख्यामा एक जनाभन्दा कम व्यक्ति रोगी रहेको अवस्था हुनुपर्छ ।
आर्थिक वर्ष २०८०/०८१ को तथ्याङ्कलाई विश्लेषण गर्दा कुष्ठरोगको प्रकोपदर राष्ट्रिय तहमा एकभन्दा कम (०.९२ प्रतिशत) रहेको छ । तर जिल्ला तहको प्रकोप दर हेर्दा ७७ जिल्लामध्ये १८ जिल्लामा एकभन्दा माथि, ४८ जिल्लामा एकभन्दा कम, ११ जिल्लामा कुष्ठरोगका कुनैपनि नयाँ बिरामी फेला परेका छैनन् । मधेश, लुम्बिनी र कोशी प्रदेशमा क्रमशः रोगको उच्च भार रहेको छ ।