काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले घोषणा गरेको रगत नजम्ने वंशाणुगत समस्या हेमोफिलिया रोगका बिरामीलाई वितरण गर्ने निःशुल्क औषधी नेपाल आएको छ ।
समस्या परेका नागरिकलाई निःशुल्क औषधी उपलब्ध गराउन स्वास्थ्य मन्त्रालय र विश्व हेमोफिलिया महासङ्घबिच गत फागुन ४ गते सम्झौता भएको थियो ।
सम्झौताअनुसारको औषधी स्वास्थ्य सेवा विभागमा आइपुगेको र अब वितरण प्रक्रिया सुरु हुने व्यवस्थापन महाशाखा प्रमुख डा. पवनजङ्ग रायमाझीले जानकारी दिए ।
मन्त्रालयले सङ्घीय राजधानी काठमाडौँका त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, कान्ति बाल अस्पताल तथा सिभिल अस्पतालमार्फत औषधी वितरण गर्ने भएको छ ।यसका अलावा सातै प्रदेशका अन्य थप १० प्रादेशिक अस्पतालहरूमा औषधी पुग्ने व्यवस्था मन्त्रालयले मिलाएको छ । गत माघ १० गते सरकारी अस्पतालमार्फत यस्तो सुविधा उपलब्ध गराउने स्वास्थ्य मन्त्री पौडेलले निर्णय गरेका थिए ।