काठमाडौँ, ११ फागुन - त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन २०७६ वैशाखमा गर्ने भएको छ। यसअघि विश्वविद्यालयले फागुन १५ गते स्ववियु निर्वाचन गर्ने तयारी थालेको थियो।
तोकिएको समयमा निर्वाचन सम्भव नभएपछि विश्वविद्यालयले स्ववियु निर्वाचनलाई पछाडि सार्ने तयारी गरिएको त्रिविकी शिक्षाध्यक्ष प्रा.सुधा त्रिपाठीले जानकारी दिएकी छन्।
उनले भनिन्,‘त्रिविले नियमित तालिकाअनुसार स्ववियु निर्वाचनको तयारी गरेको हो। फागुनबाटै परीक्षा शुरु हुने भएकाले अब वैशाख अन्तिम साता सम्पन्न गर्ने तयारीमा छौं। त्यसनिम्ति त्रिविका विभिन्न संकायका डिन, क्याम्पस प्रमुखलगायत सरोकार निकायसँग छलफल अघि बढाएका छौं।’
त्रिपाठीले भनिन्, ‘त्रिविले वैशाखमा हुने गरी स्ववियु चुनावको तालिका सार्वजनिक गर्छ। चुनावमा कुन विद्यार्थी संगठन सहभागी हुने र नहुने भन्ने उनीहरूले नै निर्णय गर्ने हो।’ हरेक दुई वर्षमा स्ववियु निर्वाचन हुने प्रावधान छ। यसअघि २०७३ फागुन १८ गते स्ववियु निर्वाचन भएको थियो।