धनगढी, १० फागुन– विद्यालयलाई ७० लाख रुपैयाँ सहयोग गर्ने डा. तुलसीराम जोशीलाई धनगढीमा अभिनन्दन गरिएको छ। धनगढी उपमहानगरपालिका–४, उत्तरबेहडीमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयले बिहीबार २७ औं वार्षिकोत्सवका अवसरमा जोशीलाई अभिनन्दन गरेको हो।
वि.सं. १९९५ मा बझाङको तामाखानीमा जन्मेका जोशीले शैक्षिक विकासका लागि उक्त विद्यालयलाई ७० लाख रुपैयाँ सहयोग गरेका थिए। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले दोसल्ला ओढाएर डा. जोशीलाई अभिनन्दनपत्र हस्तान्तरण गरेका हुन्।
जोशीले सहयोग गरेको रकमले डा. तुलसीराम जोशी अक्षयकोष स्थापना गरिएको विद्यालयले जनाएको छ। उनले विद्यालयलाई सहयोग गरेपछि विद्यालयको नाम परिवर्तन गरेर राष्ट्रिय तुलसीराम माध्यमिक विद्यालय राखिएको छ। मुख्यमन्त्री भट्टले जोशीले प्रवासमा बसेर मुलुकको शिक्षाका लागि र्पुयाएको योगदानको कदर गरिएको बताए।
अभिनन्दित व्यक्तित्व डा. जोशीले जन्मभूमिको माया लागेर विगत ३० वर्षदेखि मुलुकका विभिन्न विद्यालयलाई सहयोग गर्दै आएको बताए। अमेरिकामा दुःख–कस्ट गरेर कमाएको पैसाले मातृभूमिको सेवा गरिरहेको बताउँदै उनले मातृभूमिको सेवा नै सबैभन्दा ठूलो भएको उल्लेख गरे।
८० वर्षीय डा. जोशी हाल अमेरिकास्थित पश्चिम भर्जि्नियाको फेयरमाउन्टमा बस्दै आएका छन्। अमेरिकी नागरिकसँत विवाह गरेका उनका दुई छोरी छन्। अभिनन्द कार्यक्रमका लागि जोशी परिवारसहित धनगढी आएका थिए।