बाजुरा। जिल्लाको पूर्वी उत्तरी भेगमा कालाजारका बिरामी भेटिन थालेका छन्।
प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचारका लागि ल्याएका स्वामिकार्तिक खापर गाउँपालिका–३ बस्ने २ वर्षका बालकमा कालाजार देखा परेको छ। कालाजार देखिएपछि थप उपचारका लागि जिल्ला अस्पताल बाजुरा पठाइएको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ ।
ती बालकको परीक्षण गर्दा कालाजार देखिएको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले बताए। कालाजार देखिएका बालकलाई जिल्ला अस्पताल बाजुराले थप उपचारका लागि धनगढी पठाएको छ। कालाजारको जिल्लामा उपचार हुने गरेको भए पनि औषधि नहुँदा धनगढी रिफर गरेको अस्पतालका सूचना अधिकारी गिरीले बताए।
कालाजारको उपचार जिल्लामा हुने भने पनि कहिले औषधि नहुने समस्याले नेपालगञ्ज, धनगढी, सुर्खेत जानुपर्ने बाध्यता रहेको छ। तराईमा देखिने यो रोग पछिल्लो समयमा पहाडतिर पनि देखिन थालेको छ। यो भुसुनाको टोकाइबाट हुने र सर्ने रोग हो।