काठमाडौँ ।आज विश्व रक्तदाता दिवस नेपालमा पनि रक्तदान लगायतका बिभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
रक्तदानको महत्वबारे जनचेतना फैलाउन र मानव जीवन बचाउने रक्तदाताहरुको योगदानप्रति कृतज्ञता व्यक्त गर्न हरेक बर्ष जून १४ का दिन यो दिवस मनाउन थालिएको हो ।
मानव रगत समूह (ब्लड ग्रुप)पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्मदिन १४ जुनको अवसरमा सन् २००४ देखि विश्व रक्तदाता दिवस मनाउन थालिएको हो ।
दिवसलाई नयाँ रक्तदाताका रुपमा युवाहरुलाई उत्प्रेरित गर्ने र नियमित रक्तदाताहरुलाई सम्मानगर्ने अवसरको रुपमा समेत लिने गरिएको छ ।
रगत शरिरमा रहेको रातो तरल पदार्थ हो । यो प्लाज्मा र रक्त कोषहरुको समिश्रणबाट बनेको हुन्छ । यसले शरीरका कोषहरुमा ग्लुकोज,एमिनो एसिड लगायतका पोषक तत्वहरु सँगै अक्सिजन लगायतका आवश्यक पदार्थहरु पुर्याउने काम गर्दछ । यसले कार्वन डाइक्साइड, यूरिया, ल्याक्टिक एसिड जस्ता काम नलाग्ने तत्वहरुलाई बाहिर निश्कासन गर्न समेत सहयोग गर्दछ ।
मानव शरीरमा औसत ५ दशमलव ५ लिटर रगत रहेको हुन्छ । मानिसको कुल वजनको ७ प्रतिशत रगत हुन्छ । रगतमा प्लाज्मा ५४ दशमलव ३ प्रतिशत, रातो रक्तकोष ४५ प्रतिशत र सेतो रक्तकोष ० दशमलव ७ प्रतिशत रहेको हुन्छ ।