काठमाडौँ, ७ फागुन – त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनका लागि शिक्षाध्यक्ष डा सुधा त्रिपाठीको संयोजकत्वमा ‘स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय’ समिति गठन गरेको छ।
सोमबार बसेको त्रिवि पदाधिकारीको बैठकले स्ववियु निर्वाचनका लागि त्रिपाठीको संयोजकत्वमा १६ सदस्यीय समिति गठन गरिएको त्रिविका रजिष्ट्रार डिल्लीप्रसाद उप्रेतिले बताए। उनले समितिले चाँडै नै स्ववियु निर्वाचनको कार्यतालिका प्रकाशित गर्ने र निर्वाचन हुने सबै क्याम्पसमा निर्वाचन गर्न समन्वय गर्ने जानकारी दिए।
उनका अनुसार उक्त समितिको काम कारवाही छिटो छरितोरुपले सञ्चालन गर्नका लागि शिक्षाध्यक्ष डा त्रिपाठीको संयोजत्वकमा सात सदस्यीय कार्यसमिति गठन गरिएको छ। समितिको सहसंयोजकमा रजिष्ट्रार उप्रेती, सदस्यमा विष्णुप्रसाद खनाल, नरेन्द्रप्रसाद शिवाकोटी, विष्णु केसी, वैकुण्ठ खनाल, नारायणप्रसाद खनाल र सदस्य सचिवमा गङ्गाबहादुर थापामगर रहेका छन्।
त्रिविले प्रत्येक दुई-दुई वर्षमा गर्ने निर्वाचनको कार्यकाल यही फागुन १८ गते सकिँदैछ। त्रिविले यसअघि सबै आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन तयारी गर्न निर्देशन दिइसकेको छ। विसं २०६५ यता त्रिविमा निर्वाचन पूर्णरुपमा हुन सकेको छैन। विसं २०७३ मा २८ वर्षे उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणालीमार्फत केही क्याम्पसमा मात्र निर्वाचन भएको थियो।
निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)ले त्रिवि उपकुलपति कार्यालय घेराउ गरेका थिए। (रासस)