राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई कम्पनी मोडेलमा लिएर निजी क्षेत्रलाई सहभागी गराउने विषयले अहिले चर्चा पाइरहेको छ।
त्यसको पक्ष विपक्षमा विभिन्न टिकाटिप्पणी भइरहेका छन्। अहिले निगम १० अर्ब सञ्चित घाटा र ४७ अर्ब ऋण बोकेर सञ्चालन भइरहेको छ।
यस्तै अवस्थामा निगम चल्न दिने हो भने घाटा र ऋण बढ्दै जाने भएकोले झनै अप्ठेरो अवस्था आउन सक्ने चिन्ता एकातिर छ भने अर्कोतिर निगमलाई निजीकरण गरेर माफियाको जिम्मा लगाउन खोजेको भन्दै विरोध भइरहेको छ।
तर, निगमका महाप्रबन्धक डिमप्रकाश पौडेल निगम निजीकरण गर्न नखोजिएको दाबी गर्छन्। उनी भन्छन्, ‘निगमलाई निजीकरण गर्न खोजिएको होइन। अहिलेको आर्थिक र व्यवस्थापकीय जर्जरताबाट माथि उठाउन मात्रै खोजिएको हो।’
महाप्रबन्धक पौडेल निगमलाई अहिलेको अवस्थाबाट माथि उठाउनका लागि निजी क्षेत्रलाई भित्र्याउनुपर्ने तर्क गर्छन्। उनी भन्छन्, ‘निगमलाई अहिलेकै अवस्थामा चल्न दिने हो भने घाटा र ऋण बढ्दै जान्छ। यसले निगमलाई झनै अप्ठेरोमा पुर्याउँछ।’
राष्ट्रिय ध्वजावाहक निगम अहिलेको जस्तो आर्थिक र व्यवस्थापकीय जर्जरताबाट चलेमा झनै समस्या हुने बताउँछन्। निगम व्यवस्थापनले सरकारको कम्तीमा ५१ प्रतिशत स्वामित्व निश्चित गर्ने आश्वासन दिइरहेको छ। तर, निगमलाई निजीकरण गरेर माफियाको जिम्मा लगाउन खोजेको भन्दै विरोध गरिरहेका आम सर्वसाधारण र निगमकै कर्मचारीले व्यवस्थापनको आश्वासनलाई विश्वास गर्न सकेका छैनन्।
जसका कारण निगमका कर्मचारीदेखि सर्वसाधारणले विरोध गरिरहेका छन्। कर्मचारीको आन्दोलनका कारण १० दिनदेखि कार्यालय जान नपाएको निगमका महाप्रबन्धक पौडेलको गुनासो छ। उनी आन्दोलित कर्मचारीलाई आश्वस्त पार्दै भन्छन्, ‘कम्तीमा ५१ प्रतिशत नेपाल सरकारको संस्थापक सेयर रहने सुनिश्चितता गरिनेछ।’
पूर्वमुख्यसचिव दामोदरप्रसाद गौतमको संयोजकत्वमा बनेको उच्चस्तरीय सुझाव कार्यदलदेखि तत्कालीन योजना आयोगका सदस्य डा. शंकरप्रसाद शर्माको संयोजकत्वमा बनेको उच्चस्तरीय कार्ययोजना समितिको सिफारिसका आधारमा निगमलाई कम्पनी संरचनामा लिन थालिएको निगम व्यवस्थापनले जनाएको छ।
महाप्रबन्धक पौडेलले निगमलाई कम्पनी संरचनामा लिनुको विकल्प नरहेको बताउँछन्। निगमलाई कम्पनी मोडेलमा लिएमा ६÷७ अर्ब लगानी लगानी भित्रिने र त्यसले निगम सञ्चालनमा सहजता पुर्याउने उनको दाबी छ।
निगम वित्तीय हिसाबले अत्यन्तै जोखिमपूर्ण मोडमा पुगिसकेको र सरकारी सहयोगले मात्रै निगमकाे साख जोगिएको उल्लेख गर्दै उनी प्रश्न गर्छन्, ‘सधै यसरी राष्ट्रिय ध्वजावाहक चलाएर बस्ने त ?’