‘एचआइभी नियन्त्रण तथा रोकथामको लागि विश्वव्यापी ऐक्यवद्धता तथा साझा जिम्मेवारी’ भन्ने नाराका साथ मंगलबार विश्वभर ३३ औँ विश्व एड्स दिवस मनाइयो। नेपालका पनि विभिन्न कार्यक्रमहरु गरी विश्व एड्स दिवस मनाइएको छ।
एचआइभी र एड्स सम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सेवाको लागि विश्वव्यापी ध्यानाकर्षण गर्दै जनचेतना जोगाउन सन् १९८८ देखि हरेक वर्ष यसैदिन यो दिवस मनाउन थालिएको हो।
नेपालमा हालसम्म २९ हजार ५०३ जनामा एचआईभी संक्रमण भएको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले बताएको छ। तीमध्ये पुरुषको संख्या १७ हजार ५८७ र महिलाको संख्या ११ हजार ९१६ रहेको छ।
नेपालमा करिब ८० प्रतिशत एचआईभी संक्रमण असुरक्षित यौनसम्पर्कको माध्यमबाट सरेको केन्द्रले जानकारी दिएको छ। हाल कुल एचआईभी संक्रमितमध्ये १९ हजार ४०० जना अर्थात् ६६ प्रतिशतमात्र उपचारमा रहेका छन्।
सन् २०१० को तुलनामा सन् २०१९ सम्ममा नेपालमा नयाँ संक्रमण ६४ प्रतिशतले घटेको छ। एड्सको कारणले मृत्यु हुनेको संख्या ८५ प्रतिशतले घटेको बताइएको छ।