काठमाडौं – कोरोना भाइरस संक्रमितहरुको उपचारमा विशेष महत्व राख्ने प्लाज्मा संकलनका लागि लायन्स क्लव अफ काठमाडौं दियालोको पहलमा प्लाज्मा बैंक निमार्णको प्रकृया शुरु भएको छ । यसका लागि लायन्स क्लब अफ काठमाडौं दियालो, हामी नेपाली युवा समुह र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ)बिच सम्झौता भएको छ ।
सम्झौतामा शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. रोहित पोख्रेल, लायन्स क्लब अफ काठमाडौं दियालोका तर्फबाट संस्थापक अध्यक्ष सुनिल रिजाल र हामी नेपाली युवा समुहका तर्फबाट सुदन गुरुङले हस्ताक्षर गरेका छन् ।
कोरोना संक्रमितको उपचारका लागि अहिले प्लाज्मा थेरापि पद्दती प्रभावकारी देखिएपछि प्लाज्मा माग पनि बढेको छ । ‘‘प्लाज्मा संकलन र वीतरण व्यवस्थित होस भन्ने उद्देश्यले हामीले प्लाज्मा बैंकको तयारी थालेका हौँ,’’ लायन्स क्लवका सुनिल रिजालले भने, ‘‘यसको लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालस्थित ब्लड बैंकसंगै प्लाज्मा बैंकको पनि स्थापना गर्ने गरी यो सहकार्य भएको हो ।’’
सम्झौता हस्ताक्षर भएसँगै अब प्लाज्मा दान गर्न चाहने वा प्लाज्मा आवश्यक हुनेले शिक्षण अस्पतालस्थित ब्लड बैंकमा सम्पर्क गर्न सक्नेछन् । ‘‘यसबाट अस्पतालको सेवा विस्तारसँगै बिरामीको उपचारमा पनि थप उर्जा मिल्नेछ’’, कार्यकारी निर्देशक प्रा. डा. पोख्रेलले भने, ‘‘यस्तो जनतामुखी प्रयासहरु प्रशंसनिय छन् ।’’
कोरोना संक्रमणबाट मुक्त भएकाहरुले १४ दिनपछी प्लाज्मा दान गर्न सकिन्छ । यसका लागि प्लाज्मादाताको उमेर १८ देखी ६५ बर्ष सम्मको हुनुपर्नेछ भने कुनै किसिमको सरुवा रोग नलागेको हुनुपर्छ ।