चन्द्रौटा– कपिलवस्तुमा नर्ससहित ११ जना कोरोनामुक्त भई घर फिर्ता भएका छन्। कपिलवस्तु अस्पतालमा कार्यरत नर्स कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएको जनाउँदै आज घर फिर्ता भएपछि जिल्लामा कोरोना भाइरसलाई जितेर घर जानेको सङ्ख्या बढेको छ।
गत वैशाख ३० गते पहिलो पटकको रिपोर्टमा पोजेटिभ आएपछि नर्सलाई अस्पतालको आइसोलेशनमा राखिएको थियो। कपिलवस्तु नगरपालिका तौलिहवा निवासी २५ वर्षीया नर्सलाई घर पठाइएको हो। नर्स सङ्क्रमित भएपछि अस्पतालका कर्मचारी र परिवारसहित ११० को पिसिआर जाँच गर्दा नेगेटिभ आएको थियो।
नर्सको क्रमशः दोस्रो र तेस्रो पटक यही जेठ १ र ४ गते दुई पटक जाँच गर्दा रिपोर्ट नेगेटिभ आएको थियो। नेपालमै पहिलो स्वास्थ्यकर्मी सङ्क्रमित भएर १४ दिनमै कोरोना जित्न सफल भएको अस्पतालका डा किशोर बञ्जाडेले बताएका छन्। उनलाई थप एक साता होम क्वारेन्टाइनमा बस्न सुझाव दिइएको छ।
शनिबार कपिलवस्तु नगरपालिका तथा मायादेवी र यशोधरा गाउँपालिकाका तीनतीन र बुद्धभूमि नगरपालिकाका एक जनालाई बुटवलको कोरोना विशेष अस्पतालबाट घर पठाइएको थियो। कपिलवस्तुमा सोमबारसम्म ८३ कोरोना सङ््क्रमण देखिएको छ। रासस