बझाङ– सुदूरपश्चिम प्रदेशको विकट जिल्लाका रुपमा रहेको बझाङको बुङ्गल नगरपालिकामा भिडियो एक्स–रे सेवा शुरु भएको छ। सो नगरपालिकामा आजदेखि पहिलो पटक सो सेवाबाट गर्भ जाँच शुरु भएको हो।
प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रत्येक स्थानीय तहमा रहेको स्वास्थ्य संस्थाको नर्सिङ कर्मचारीका लागि अल्ट्रासाउनण्डको तालिम सञ्चालन गरेको थियो। सोही अनुरुप सो नगरपालिकाको वडा नं ४ को खिरातडी स्वास्थ्य चौकीमा सो सेवा शुरु गरिएको हो। स्थानीय तहमै गर्भवतीको भिडियो एक्स–रे प्रविधिद्वारा जाँच गरिने भएपछि दैनिक जाँचका लागि लामो दूरी तय गरी चैनपुर तथा धनगढीलगायत अन्यत्र जानपर्ने समस्याको अन्त्य भएको छ।
स्वास्थ्य चौकीमै अत्याधुनिक प्रविधिबाट जाँच हुन थालेपछि प्रजनन्सँग सम्बन्धित समस्याको समाधान भएको स्वास्थ्य चौकीका अनमी प्रमीला कु बोहोरा धाँमीले जानकारी दिएका छन्। उनको अनुसार गर्भवतीलाई जाँच तथा बच्चा जन्माउनका लागि अन्यत्र जानपर्ने बाध्यताको अन्त्य भएको जनाइएको छ। रासस