दाङ– तुलसी बाल अस्पतालको आइसोलेशन वार्डमा रहेकी सुत्केरी अनिता यादवको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। यादवको पिसिआर विधिबाट परीक्षण गर्दा नेगेटिभ आएको स्वास्थ्य कार्यालयका कोभिड —१९ फोकल पर्सन कमल चन्दले जानकारी दिएका छन्।
उनको स्वाब परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको प्रयोगशालामा पठाइएकामा आइतबार साँझ रिपोर्ट आएको हो। यादवले शुक्रबार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा कम तौल भएका जुम्ल्याहा शिशुलाई जन्म दिएकी थिइन्। ती शिशुलाई नवजात अतिसघन कक्षमा राखेर उपचार गर्नपर्ने भएपछि प्रादेशिक अस्पतालले तुलसी बाल अस्पतालमा सिफारिस गरेको थियो। अहिले जुम्ल्याहा दिदीबहिनीको स्वास्थ्यावस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ।
यादव तुलसीपुरको क्वारेन्टाइनमा बस्दै आएकी थिइन्। केही दिनअघि भारत, बलरामपुरस्थित आफ्नो माइतीघरबाट पैदल हिँडेर तुलसीपुर उपमहानगरपालिका—१३ मा रहेको घरमा उहाँ आएको थाहा पाएपछि स्थानीयवासीले उपमहानगरपालिकालाई खबर गरेका थिए। त्यसलगत्तै उनलाई तुलसीपुरको रक्षाचौर क्वारेन्टाइनमा लगिएको थियो। यादवको यसअघि गरिएको ¥यापिड डायग्नोष्टिक टेष्टको रिपोर्ट पनि नेगेटिभ आएको थियो। रासस