दार्चुला– लामो समयको बन्दाबन्दीका कारण अधिकांश ठाउँका दीर्घरोगीले समस्या भोगिरहेका बेला जिल्लाको मालिकार्जुन गाउँपालिकाले दीर्घरोगीलाई निःशुल्क औषधि वितरण गरेको छ। गाउँपालिकाभरिका आठवटै वडाका स्वास्थ्य चौकीमा पुगेर निःशुल्करुपमा दीर्घरोगीका बिरामी खोजी औषधि वितरण गरेको हो।
गाउँपालिकाले आठवटै वडाका ४०६ घरधुरीलाई औषधि वितरण गरेको गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ। मालिकार्जुन गाउँपालिका स्वास्थ्य शाखाका अनुसार वडा नं १ मा ३५, वडा नं २ मा २१, वडा नं ३ मा ४४, वडा नं ४ मा १५, वडा नं ५ मा ८६, वडा नं६ मा ११५, वडा नं ७ मा २६ र वडा नं ८ मा ६४ जनालाई निःशुल्क औषधि वितरण गरेको स्वास्थ्य शाखा सहसंयोजक रामदत्त जोशीले जानकारी दिएका छन्। यसरी निःशुल्क औषधि पाउनेमा १७७ जना महिला रहेका छन्।
दीर्घरोगीले औषधि लिन सदरमुकाम खलङ्गा, धनगढी, नेपालगञ्ज, काठमाडौँ तथा भारतका विभिन्न शहरबाट औषधि लिएर खानपर्ने बाध्यता थियो। तर, ६ सातादेखिको बन्दाबन्दीका कारण औषधि लिन जान नसक्दा समस्यामा परेको भन्दै मालिकार्जुन गाउँपालिकाले निःशुल्क औषधि वितरण गर्ने निर्णय गरेको गाउँपालिका प्रवक्ता प्रेम पन्तले बताएका छन्। कोरोनाको बेला स्थानीयवासीलाई बाहिर गएर औषधि लिन सक्ने अवस्था नभएपछि बन्दाबन्दी अवधिभर गाउँपालिकाले निःशुल्क औषधि दिएको पन्तको भनाइ छ। गाउँपालिकाले सुगर, प्रेसर, मुटु, मानसिक समस्या र बाथलगायत रोगको औषधि निःशुल्क वितरण गरेको हो।
कोरोना सङ्क्रमण जोखिम नियन्त्रण र औषधि सेवन गर्न नपाएकै कारण दीर्घरोगीको स्वास्थ्यस्थिति बिग्रिन नदिन गाउँ गाउँ पुगेर औषधि वितरण गरेको स्वास्थ्य संयोजक गुणराज ओझाले बताएका छन्। गाउँपालिकाले हरेक स्वास्थ्य संस्थामार्फत दीर्घरोगका औषधि सेवन गर्ने व्यक्तिको सङ्ख्या सङ्कलन गरे पनि सङ्कलन गरेभन्दा बढी बिरामी थपिएका छन्।
‘सङ्ख्या थपिँदै गएको छ भने केही फरक रोगका बिरामी पनि औषधिका लागि आए’, संयोजक ओझाले भने, ‘उनीहरुका लागि पनि औषधि व्यवस्थापनको पहल भइरहेको छ।’ भारतका लखनाउँ, बरेलीलगायत क्षेत्रबाट औषधि खानेहरुसमेत औषधि लिन आएपछि थप औषधिको व्यवस्थापन गर्न लागिएको उनको भनाइ छ। रासस