काठमाडौं– दाँत दुख्ने समस्याले हैरान हुनुहुन्छ ? लकडाउनको समयमा दाँत दुख्ने समस्या भए पनि उपचारका लागि जान नसक्दा वा नजिकैका स्वास्थ्य संस्थामा सेवा बन्द हुँदा तपाईँ दुखाइ सहेर बस्न बाध्य भएको हुनसक्छ। यदि त्यसो हो भने अब तपाईँले लकडाउनको समयमा सजिलै दाँत तथा मुखको उपचार पाउनुहुनेछ। चावहिलस्थित ओम समाज डेन्टल अस्पतालले लकडाउनका समयमा अत्यावश्यक सेवा बिरामीको घरमै पुगेर दिइरहेको छ।
कोभिड–१९ का त्रासका कारण कतिपय निजी स्वास्थ्य संस्थाले उपचार नगरी बिरामी फर्काएको सञ्चारमाध्यममा आइरहँदा यो अस्पतालले भने बिरामीको घरमा पुगेर निःशुल्क सेवा दिइरहेको छ। अस्पतालले सामाजिक सेवाका लागि छुट्याएको २० प्रतिशत रकमबाटै निःशुल्क उपचार गर्दै आएको अध्यक्ष डा सुवास घिमिरेले बताएका छन्। अस्पतालले उपचार खर्च, त्यहाँसम्मको यातायात खर्च मात्रै नभएर औषधिसमेत निःशुल्क उपलब्ध गराइरहेको छ। उनले भने, ‘अहिलेसम्म अस्पतालको आन्तरिक स्रोतबाट व्यवस्थापन भइरहेकाले अरुको सहयोग लिइएको छैन।’
अस्पतालले लकडाउन घोषणा भएको दुई– तीन दिनदेखि नै यो सेवा शुरु गरेको थियो। एक महिनाको अवधिमा २०० जनाभन्दा बढी सेवा दिइएको अस्पतालले जनाएको छ। अस्पतालको फेसबुकपेज र वेवसाइटमार्फत टेलिफोन सम्पर्क वा म्यासेजमार्फत सम्पर्क गरेर व्यक्तिले आफ्नो समस्या सुनाउने गरेका छन्। ती व्यक्तिको समस्या जाँच नै गर्नुपर्ने भएमा स्वास्थ्यकर्मीलगायत टोली त्यहाँ पुग्ने गरेको छ। पहिले नै यो ठाउँमा जाने भन्ने टुङ्गो लागेपछि त्यस रुटमा पर्ने अरु व्यक्तिको समेत उपचार हुन्छ। उनले भने, ‘बिहान १० बजे निस्केपछि हामी साँझ मात्रै फर्कने गरेका छौँ।’
सातामा छ दिन सेवा दिने भनिए पनि आकस्मिक अवस्थामा सात दिन नै सेवा दिइएको अस्पतालका अध्यक्ष डा घिमिरेले बताएका छन्। अस्पतालको गाडीमा दन्तरोग विशेषज्ञ, सहयोगीलगायत १२ जनाको टोली हिँड्ने गरेको छ। अस्पतालका टोलीे उपचारका लागि दन्त रोगको सम्पूर्ण उपचार गर्न मिल्ने अत्याधुनिक उपकरणजडित एम्बुलेन्स लिएर जाने गरेका छन्। गाडीमा अस्पतालमा जस्तै आवश्यक सबै स्वास्थ्य सामग्री रहेको उनले बताएका छन्। कुनै पनि रुटको तय भएपछि टोली बिहानै चावहिलस्थित अस्पतालबाट निस्कने गरेको छ।
सल्लाघारी रुट पर्दा चावहिलबाट गौशाला, तीनकुने, जडीबुटी, अरनिको राजमार्ग हुँदै त्यस रुटमा रहेका बिरामी एकै दिनमा हेर्ने गरेको छ। त्यस्तै, अरु ठाउँमा जाँदा पनि कुन रुट भएर जाने र कुन–कुन बिरामीको घरमा जाने भन्ने पहिला नै योजना बनाइने डा घिमिरेले बताएका छन्। उनले भने, ‘हामीले यो रुटमा जाने भन्ने सामाजिक सञ्जाल वा वेबसाइटबाट थाहा पाएपछि मेरो घरमा आउनुहोस् भनेर उनीहरु नै सम्पर्क गर्छन्।’
अस्पतालले विशेषगरी विपन्न, अशक्त र अपाङ्गता भएका व्यक्तिलाई लक्षित गरी यो सेवा शुरु गरेको हो। यी व्यक्ति अस्पतालसम्म जाने नसक्ने र नजिकैका अस्पतालले पनि सेवा नदिएको हुनसक्ने भन्दै उपत्यकाका सबै स्थानमा यो सेवा दिइएको हो। अस्पतालले आफूसँग भएको ज्ञान, प्रविधि र उपकरणको प्रयोग गरेर बिरामीलाई सेवा दिइरहेको हो। कतिपयले कोभिड–१९ बाहेक अस्पतालले अरु उपचार गर्दैनन् भन्ने सोचेर पनि दुखाइ सहेको हुनसक्ने उनले बताएका छन्। उनले भने, ‘कतिपय बिरामी आफैँ एन्टिवायोटिक खाएर पनि निको नभएको सुनाउँछन्।’
दाँतको उपचारका लागि आवश्यक सबै स्वास्थ्य सुरक्षा अपनाएर नै स्वास्थ्यकर्मी घर–घरमा पुग्ने गरेका छन्। अस्पतालले किन्न खोज्दा पर्सनल पोटेक्टिभ इक्युपमेन्ट –पिपिइ नपाएपछि आफैँले उत्पादन गरेर प्रयोग गरिरहेको डा घिमिरेले बताएका छन्। उनले भने, ‘हामी आफैँले आवश्यक मात्रामा बनाइरहेका छौँ।’
अहिलेसम्म उपचार गरिएका बिरामीका आधारमा यो समयमा बिरामीमा गिजा सुन्निने, सङ्क्रमण फैलने र दाँत सहन नसक्ने गरी दुख्ने समस्या बढी पाइएको छ। सामान्य अवस्थामा पनि मुखको स्वास्थ्यलाई कम ध्यान दिइने गरिएको डा घिमिरेले बताएका छन्। नेपालमा मृत्युका प्रमुख कारण मानिएका रोगहरु मुखका रोगसँग सम्बन्धित भए पनि धेरैले मुखको स्वास्थ्यलाई हेलचेक्राइ गरेको उनले बताएका छन्। रासस