डोल्पा– सदरमुकाम दुनैमा रहेको एक मात्र जिल्ला अस्पतालले शल्याक्रियासहितको प्रसूति सेवा दिन थालेपछि अस्पतालमा सुत्केरी गराउनेको सङ्ख्यामा वृद्धि भएको छ। अस्पतालले प्रसूति तथा स्त्रीरोग विशेषज्ञ चिकित्सक नै नियुक्ति गरेर शल्यक्रियासहितको प्रसुति सेवा शुरु गरेपछि सुत्केरी गराउने महिलाको सङ्ख्या बढेको हो।
जिल्लामै जटिल अवस्था भएका गर्भवतीको पनि सफल शल्यक्रिया हुन थालेकाले विकट गाउँबस्तीबाट सुत्केरी गराउन आउने गरेका हुन्। अस्पतालले भरपर्दो सेवा सुविधा दिन थालेपछि सुरक्षित सुत्केरी गराउनकै लागि नेपालगञ्ज, काठमाडाँै, सुर्खेतलगायतका जिल्ला बाहिरका शहरमा जानुपर्ने अवस्था हटेको छ।
मङ्सिरयता मात्रै ज्यानै जोखिममा परेका आठ गर्भवतीको सफल शल्यक्रिया गर्न सफल भएको प्रसूति तथा स्त्रीरोग विशेषज्ञ चिकित्सक शङ्करप्रसाद राउतले जानकारी दिएका छन्। एसएनसीयू र आइसीयूमा राख्नुपर्ने अवस्थामा मात्रै सुत्केरीको हेलिकोप्टरबाट उद्धार गर्ने गरिएको उनको भनाइ छ।
‘पेटमा उल्टो बच्चा भएको, बच्चा खेल्ने पानी सुकेका, सुत्केरी हुन तोकिएको म्याद नाघेर पनि सुत्केरी हुन नसकेका लगायत जटिल प्रकारको शल्यक्रिया पनि सफल रुपमा गरेका छाैं’, डा राउतले भनेका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको टोली नआउँदा दुई वर्षसम्म डोल्पा अस्पतालको सम्पूर्ण शल्यक्रिया सेवा ठप्प भएको थियो।
पहिलाको भन्दा जिल्ला अस्पतालको प्रसूति सेवा धेरै राम्रो हुँदै गएको सुत्केरी हुन जिल्ला अस्पताल पुग्नुभएकी मनिषा रोकायले बताएकी छन्। सुरक्षित प्रसूति सेवा नपाएर अकालमा ज्यान गुमाउँदै आएका ग्रामीण महिलालाई विशेषज्ञ सेवा दिएर ज्यानसँगै जिल्ला बाहिर लैजाँदा लाग्ने लाखौँ रकम जोगिएको अस्पताल प्रमुख डा सिजन रावलले जानकारी दिएका छन्।
ग्रामीण भेगका महिलामा चेतना बड्दै गएकाले सुरक्षित सुत्केरी गराउनका लागि अस्पताल आउनेको सङ्ख्या बढदै गएको डा मेलिना हमालले बताएकी छन्। चालू आवमा मात्रै ७० भन्दा धेरैको सुरक्षित सुत्केरी र आठको शल्यक्रियाबाट सुत्केरी गराएको उनले जानकारी दिएकी छन्। कतिपय महिला नियमित स्वास्थ्य जाँचबिना नै एकैपटक सुत्केरी गराउन अस्पताल आउने गरेकाले कहिलेकाहीँ समस्या हुने हमालको भनाइ छ। अस्पतालमा ब्लड बैंकको व्यवस्था नहुँदा तत्काल शल्यक्रिया गर्नुपर्ने अवस्थामा मान्छे खोजेर रगत दिन लगाउनपर्ने अवस्था रहेको चिकित्सकहरुले गुनासो गरे।
दुनै बजारदेखि अस्पताल पुग्ने बाटो घुमाउँरो र साँघुरो हुँदा बिरामी ल्याउन लैजान एकदमै समस्या हुने गरेको अस्पतालले जनाएको छ। जटिल प्रकृतिको बिरामी भएमा घुमाउँरो बाटो हुँदै अस्पताल पुर्याउँदासम्म बिरामिको ज्यानसमेत जान सक्ने खतरा रहेकाले सिधैँ अस्पताल जोड्ने एक बेलिब्रिज पुलको टड्कारो अवाश्यकता रहेको अस्पतालले जनाएको छ। रासस