वलेवा– सुत्केरी हुन नसकेपछि बागलुङको ढोरपाटन नगरपालिका–१ की ३३ वर्षीया भीमा भुसाल पाण्डेको हेलिकप्टरबाट उद्धार गरिएको छ। उनको बडिगाड गाउँपालिकाको केन्द्र ग्वालिचौरबाट उद्धार गरिएको हो। आज नै प्रसूति ब्यथाले थलिएकी पाण्डेको उद्धारका लागि बडिगाड गाउँपालिकाका अध्यक्ष प्रमुख सिंह पाइजाको पहलमा सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशले हेलिकप्टर पठाएको हो।
ब्यथा लागेपछि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ पुगेकी उहाँलाई स्वास्थ्य केन्द्रले पोखरा पठाएको थियो। बाटोमा जिल्ला सदरमुकामतर्फ एम्बुलेन्समा आउँदै गर्दा ब्यथाले झन् च्याप्दै गएपछि बडिगाड गाउँपालिकाको कार्यालय परिसरमा पु¥याएको थियो। परिसरमै रहेकी उनलाई उद्धारका लागि हेलिकप्टर मगाइएको गाउँपालिकाका अध्यक्ष पाईजाले बताएका छन्।
उनलाई गण्डकी अस्पताल पोखरा लगिएको पाईजाले जानकारी दिएका छन्। पाण्डेका यसअघि पनि दुई सन्तान छन्। ‘उनको अवस्था देखेर माननीय मन्त्री नरदेवी पुनलाई सम्पर्क गरेँ, अध्यक्ष पाइजाले भने, ‘उनले तत्काल प्रभुको हेलिकप्टर पठाए उनी अस्पताल पुगेकी छन्।’ स्वास्थ्य केन्द्रका अनुसार पेटमा बच्चा असामान्य अवस्थामा रहेकाले उनलाई पोखरा पठाइएको थियो। रासस