भैरहवा भन्सार कार्यालयले कोभिड–१९ सङ्क्रमण तथा रोकथामका लागि शुरु भएको लक डाउनको अवधिको १२ दिनमा रु २९ करोडभन्दा बढी राजश्व सङ्कलन गरेको छ।
उक्त भन्सारले चैत ११ गते देखि २२ गतेसम्मको १२ दिनको अवधिमा रु २९ करोड २५ लाख राजश्व सङ्कलन गरेको भैरहवा भन्सार कार्यालयको सूचना शाखाले जनाएको छ।
यस अवधिमा उक्त भन्सार नाकाबाट ग्यास बुलेट १९९, पेट्रोल ट्याङ्कर ३५, डिजेल ट्याङ्कर १२ र अन्य एक हजार ३१७ मालवाहक ट्रक भन्सार पास भएको भैरहवा भन्सार कार्यालयका कार्यालय प्रमुख कमलकुमार भट्टराईले जानकारी दिए।
लकडाउनको अवधिमा चामल, हरियो तरकारी, फलफूल, सर्जिकल तथा मेडिकल सामानहरु, साबुन, प्लाई, कोइला र अन्य समानहरु भारतबाट आयात भएको भैरहवा भन्सार कार्यालयका सूचना अधिकृत पूण्यप्रसाद लम्सालले बताए।