कोभिड –१९ को संक्रमण फैलिन नदिन गरिएको लकडाउनपछि दैलेख बजार नजीकै गणेशथानमा बसोबास गर्दै आइरहेका तारा वादीको तीन दिनसम्म चुल्हो बलेन। तारालाई आफन्तले चामल, नुन र तेल पैँचो दिए। केही दिनसम्म पैँचोबाट ताराले चार जनाको परिवार पालिन्।
सरकारले लकडाउन थप गरेपछि अन्य वादी समुदायले ताराको जस्तै पीडा भोग्नुप(यो। जहान परिवार पाल्न बादी समुदायले साहु महाजनबाट आफूसँग भएको पैसाले अन्न खोजेर ल्याए। त्यहीले गुजारा चलाए। “केटाकेटीलाई मात्र खान दिएर कहिल्यै हामी भोकै बस्यौँ, हातमुख जोर्न पाइएन”, कलम वादीले पीडा सुनाए।
शनिबार नारायण नगरपालिकाले वितरण गरेको खाद्यान्न पाउँदा तारा र कलम खुशी भए। पहिला घरमा एक छाक चामल नहुँदा रोगभन्दा भोकले मरिने चिन्ता थियो। “चामल पाएपछि अब त बाँचिन्छ कि भन्ने लागेको छ सरकार १”, ताराले खुशी व्यक्त गरे।
तारा र कलम मात्र होइनन्, ती जस्तै ६५ घरपरिवार वादी समुदायमा यो समस्या हिजोसम्म ठूलो थियो। नगरको राहत वितरणपछि भने सबैको मुहारमा चमक छाएको छ। राहत वितरणपछि यो समुदाय स्थानीय सरकारको गुनगान गाउन थालेको छ।
“नेपाल सरकारले घरबाट बाहिर नआउनू, रोग लाग्छ भनेपछि हामी घरमै बस्यौँ तर रोगभन्दा छिटो हाम्रो बस्तीमा भोक आयो। लकडाउनसँगै बजार बन्द हुँदा बादी समुदायले काम गर्न नपाउँदा छाक टार्न समस्या भएको थियो, अब ढुक्क भयौंँ”, कलमले बताए, “बजार बन्द हुँदा कमाइ हुँदैन थियो। के खाने भन्ने चिन्ता लागेको थियो। हाम्रो सरकारले पीडा बुझिदियो, अब चिन्ता छैन। अब घरमै बसेर सरकारले ल्याएको लकडाउनलाई सहयोग गर्छौँ।”
उमेरले तीन बीस काटेका धनकला वादी पनि औधि खुशी छन्। “अब सरकारले अन्नपानी सबै दियो। घरमै बसीबसी खानू भनेको छ, त्यही गर्नुप¥यो। सबै दिएपछि बाहिर निस्कने काम छैन”, उनले भने,“ बन्द भएपछि बिहान खाए बेलुका के खाने, बेलुका खाए बिहान के खाने भन्ने चिन्ताले निद्रासमेत लाग्न छाडेको थियो। अब कानमा तेल हालेर सुत्छौँ, हाँस्दै धनकलाले भने।
विश्वव्यापी फैलिएको कोरोना भाइरसबाट बच्न नेपाल सरकारले नेपालभरि लकडाउन लगाउँदा प्रत्यक्ष मारमा ज्यालामजदूरी गरेर जीविका चलाउने परिवारमा परेको पीडा खाद्यान्न वितरणबाट शान्त हुने पत्रकार भक्तबहादुर शाहीले बताए। नारायण नगरपालिका जस्तै अन्य १० स्थानीय सरकारले लगत संकलन गरी खाद्यान्न वितरण गर्दा ज्यालामजदूरी गरेर जीवनयापन गर्दै आएकालाई सुविस्ता हुने र लकडाउनको पालन हुने उनले बताए।
लकडाउनको प्रत्यक्ष मारमा ज्यालामजदूरी गरेर खाने वादी समुदाय परेकाले नगरपालिकाले शनिबार राहत वितरण गरेको नगरपालिका प्रमुख रत्नबहादुर खड्काले जानकारी दिए।
“हामीले नगरपालिकाका ९५४ विपन्न परिवारलाई साबुन, दाल, नुन र २५ किलो चामल वितरण गरेका छौंँ। बाहिरी जिल्लादेखि काम गर्न आएका ५६ जनालाई राहतस्वरुप खाद्यान्न दिएका छौँ। पहिलो चरणमा १५९ घरधुरीलाई खाद्यान्न दियौँ, बाँकी घरधुरीमा क्रमशः दिँदै जान्छौँ”, नगर प्रमुख खड्काले भने। खाद्य सामग्री हस्तान्तरण गर्दै खड्काले भने, “तपाईँहरु सबै लकडाउनको पालना गरी घरमै बस्नुहोला। घरआँगनमै स्थानीय सरकार भएकाले तपाँईहरु भोकै बस्नुपर्दैन।” रासस