झापा– व्यक्तिगत कामले थाइल्याण्ड पुगेर फर्किएका झापाको भद्रपुरका एक व्यक्ति आजदेखि घरमै स्वनिगरानी–क्वारेन्टाइनमा बसेका छन्। निगरानीमा बस्ने कार्यको जनस्वास्थ्य कार्यालयले प्रशंसा गर्दै उनलाई प्राविधिक सहयोग पुर्याएको छ।
भद्रपुर नगरपालिका–६ का ३७ वर्षीय ती व्यक्ति शनिवार काठमाडौँबाट विराटनगर विमानस्थल हुँदै घर फर्किएका थिए। उनले घरमा पुगे लगत्तै नगरपालिकाको विपद् व्यवस्थापन समितिमा सम्पर्क गरेर आफूले ‘सेल्फ क्वारेन्टाइन’मा बस्न चाहेको बताएका थिए।
आज जनस्वास्थ्य कार्यालयका अधिकृत जीवन चौलागाई र विपद् व्यवस्थापन समितिको स्वास्थ्यकर्मीसहितको टोली उनको घरमा पुगेको थियो। उनको स्वास्थ्य सामान्य रहेको बताउँदै अधिकृत चौलागाईँले भने, ‘सचेत व्यक्ति हुन्, आफैँ सम्पर्क गरेर सेल्फ क्वारेन्टाइनमा बस्छु भने र हामीले उनकै घरको एक कोठामा आवश्यक सामान जुटाएर उनलाई राख्यौँ।’
उनी २० दिनअघि व्यक्तिगत कामले थाइल्याण्ड गएका थिए। उनलाई समितिले तयार गरेको वडा नं ८ मा रहेको कलबलगुढी क्वारेन्टाइनमा बस्न अनुरोध गरिए पनि आफैँ घरमा बस्ने इच्छा व्यक्त गरेपछि घरमै बस्ने वातावरण तयार गरिएको अधिकृत चौलागाईँले बताएका छन्। उनको स्वास्थ्य नियमित परीक्षण गरिने उनको भनाइ छ। रासस