काठमाडौं– गजेन्द्र स्मृति फाउन्डेशनले दोलखास्थित कालिन्चोक गाउँपालिकाको स्थानीय तहका लागि एम्बुलेन्स दिएको छ। एम्बुलेन्सले गाउँपालिकास्थित नौ वटै वडाका स्थानीयलाई सुविधा दिनेछ।
गाउँपालिकामा यस अघि दुईवटा मात्रै एम्बुलेन्स सुविधा थियो। उक्त एम्बुलेन्सले विशेष गरी वडा नं ३ र ९ का स्थानीयलाई मात्रै सुविधा दिँदै आएका थिए। वडामा नयाँ एम्बुलेन्स थपिएपछि वडा नं. २ र १ का स्थानीयले प्रत्यक्ष सुविधा पाउने भएका छन्। गाउँपालिकाका अध्यक्ष बीनकुमार थामीले शुक्रबार हस्तान्तरित एम्वुलेन्सले गाउँपालिकाका विकट क्षेत्रका स्थानीयलाई सुविधा दिने बताएका छन्।
फाउण्डेशनका अध्यक्ष ओमकुमार श्रेष्ठले बिकट गाउँका स्थानीयले समयमा नै अस्पताल जान नसकेर अकालमै ज्यान गुमाउनपर्ने अवस्था देखेपछि एम्बुलेन्स उपलब्ध गराएको बताएका छन्। एम्बुलेन्समा अक्सिजन, वातानूकुलितदेखि प्राथमिक उपचारका सम्पूर्ण सामग्री जडान गरिएको छ। फाउण्डेशनले लगतै गाउँमा स्वास्थ्य शिविर चलाउने अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन्। रासस