काठमाडौं– फलफूल तथा तरकारीमा विषादी सजिलै छुट्याउन त गाह्रो हुन्छ । यसको मापन गर्न यन्त्र उपकरणको आवश्यकता पर्छ। तर पनि
तरकारी तथा फलफूल किन्दा केही सावधानी अपनाएको खण्डमा विषादीबाट बच्न सकिन्छ ।
तरकारी तथा फलफूल किन्दा ध्यान दिनुपर्ने कुराहरु:
– तरकारी तथा फलफूल हेर्दा एकदमै चिल्लो देखिन्छ, त्यस्ता तरकारी तथा फलफूल सकेसम्म नकिन्ने
– खोट नभएको भन्दा पनि कतै खोट भएको किन्ने, ओइलिएको जस्तो या किरा फट्याङग्राले खाएको जस्तो किन्ने, सागपातमा प्वाल परेको जस्तो किन्ने।
विषादीयुक्त तरकारी तथा फलफूलले तत्काल गर्ने असरः
एलर्जी हुने, वाकवाकी र रिँगटा लाग्ने, खान मन नलाग्ने र ज्वरो आउने तथा पूरै शरीरमा डाबर देखिने।
दीर्घकालीन असरः
बाँझोपनको समस्या देखा पर्ने, फोक्सो, मुटु, मृगौला तथा दिमागमा असर गर्ने, सुगर तथा प्रेसरको रोग निम्त्याउने, क्यान्सरको सम्भावना बढी हुने, गर्भवती महिलामा समस्या ल्याउने र बालबालिका अपाङ्ग वा सुस्त मनस्थितिका शिशु जन्मिने खतरा बढ्ने।
विषादीबाट बच्ने उपायः
अर्गानिक र ताजा फलफूल र तरकारी किन्नुपर्छ। सकभर मौसमअनुसार फलफूल र तरकारीको मात्र सेवन गर्नुपर्छ र विषादीजन्य खाद्यान्नलाई बहिष्कार गर्नुपर्छ।
विषादीयुक्त फलफूल, तरकारी भान्सामा भित्रिएको अवस्थामाः
सामान्य तरिका भनेको राम्ररी धुने, पखाल्ने नै हो। तर धोइपखाली गर्दासमेत विषादी नजान सक्छ, त्यसैले अधिक मात्रामा रहेको विषादी हटाउन नुनपानीको प्रयोग गर्न सकिन्छ। यदि नुन पनि नराख्ने हो भने सफा पानीमा रातभर भिजाउने र बिहान राम्रोसँग पखाल्ने गर्यो भने धेरै हदसम्म बाहिरी भागमा रहेको विषादी जान्छ। उपभोक्ता आफैँ सचेत भइ आफ्नो स्वास्थ्यका लागि विषादीमुक्त फलफूल र तरकारी खानु पर्दछ।