काठमाडौं– अधिकांश नेपालीको भान्सामा प्लास्टिकका भाडाँकुडा हुन्छन्। सस्तो तथा चलाउन सजिलो हुने भएकाले धातुका भन्दा प्लास्टिकका भाडाँकुडाको बढी प्रयोग हुन्छ। तर मानव स्वास्थ्यका लागि प्लाष्टिकको प्रयोग हानिकारक हुन्छ। यसमा हुने रासायनिक तत्वले मानव स्वास्थ्यमा गम्भिर खतरा निम्त्याउने पनि गर्छ।
विशेषगरी पीभीसी, पोलिस्टाइरिन र पोलिकार्बोनेटेड प्लाष्टिक मानव स्वास्थ्यका लागी घातक मानिन्छ। त्यस्तै बजारमा पाइने पानीको जार पोलिकार्बोनेटेड केमिकलबाट बनेको हुन्छ जुन मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ। प्लाष्टिकको अत्यधिक प्रयोग गर्दा शरीरमा एलर्जी हुने, नवजात शिशुमा शारीरिक तथा मानसिक पक्षघात हुनसक्ने र वंशाणुगत परिवर्तनसम्म पनि हुन सक्छ।
मानव जीवनको हर्मोनलाई नै परिवर्तन गराउने क्षमता राख्ने प्लाष्टिकले प्रतिरक्षा प्रणालीलाई समेत कमजोर बनाउँछ। यसको प्रयोगले बालबालिका तथा गर्भवती महिलालाई बढी असर गर्दछ। साथै मधुमेह, मुटुसम्बन्धी रोग, घाँटीको क्यान्सर, चिढ्चिढापन, प्रजनन क्षमतामा ह्रास आउन सक्छ। प्लाष्टिकको प्रयोगले आँखा, मृगौलालाई समेत हानी गर्छ। अझ प्लास्टिक बाल्दा निस्कने ग्यासले क्यान्सर समेत गराउने भएकाले सचेत रहन चिकित्सकहरुले सुझाव दिन्छन ।