काठमाडौं– स्लिमिङ बेल्ट, यसलाई साधारण भाषामा भन्ने हो भने यो एउटा कम्मरमा बाँधिने पेटी हो। जसलाई कम्मरमा बाँध्दा बढेको पेट घट्ने बताइन्छ। अहिले धेरै व्यक्तिहरु आफ्नो तौल तथा पेटको साइज घटाउनका लागि भनेर विज्ञापनको आधारमा यस्तो बेल्टको प्रयोग गर्ने गर्छन्। तर के बढेको तौल तथा पेटको आकार घटाउन स्लिमिङ बेल्टले वास्तबमै काम गर्छ त? यसतर्फ भने कमै मानिसको मात्र ध्यान जाने गर्छ।
धेरै मानिसहरुले यस्तो पेटी प्रयोग गरेपछि पेट घटेको महसुस गर्ने गर्दछन्। यस्तो महसुस गर्नुको एउटा कारण यो पनि हुन सक्छ कि, यसलाई बाँधेपछि कम्मर तथा पेटमा पसिना आउँछ। तर यस्तो पसिना त तपाईले कम्मर तथा पेटमा कुनै बाक्लो कपडा बाँध्दा पनि आउँछ। स्लिमिङ बेल्टले तपाईको पेटमा जम्मा भएको बोसो पगालेर पसिना आउँदैन। यसले शरीरमा भएको पानीलाई मात्रै पसिनाका रुपमा बाहिर निकाल्ने गर्दछ।
धेरै मानिसहरुमा टेलिभिजन तथा अनलाइन च्यानलहरुमा स्लिमिङ बेल्टबारे देखाइने विज्ञापनको असर परेको हुन सक्छ। यस्ता विज्ञापनमा सुन्दर शरीर भएका मोडेलहरुलाई प्रयोग गरेर तपाईलाई ती बेल्टहरु खरिद गर्नका लागि लोभ मात्र देखाईएको हुन्छ। बुझ्नुपर्ने कुरा के हो भने, ती विज्ञापनमा देखिने ती मोडेलहरुले पहिले नै तयार पारिएको स्क्रिप्ट मात्रै पढ्छन्। त्यसैले यो एउटा विज्ञापन मात्रै हो।
तपाई दैनिक रुपमा व्यायाम गर्नुहुन्छ, जीम जानुहुन्छ भने, त्यतिबेला यस्तो बेल्टहरुलाई प्रयोग गर्दा केही लाभ प्राप्त गर्न सकिन्छ। यसले तपाईको शरीरको पसिना छिटो बगाउनका लागि मद्दत गर्दछ। हामीले याद राख्नुपर्ने कुरा के हो भने, शरीरको तौल तथा आकार घटाउनका लागि कुनै पनि छोटो विधि हुँदैन। न त जादुमयी तरिकाले नै तौल घटाउन सकिन्छ।
तौल घटाउनका लागि तपाईले नियमित रुपमा व्यायाम नै गर्नुपर्ने हुन्छ र आफ्नो खानपानमा पनि विशेष ध्यान दिनुपर्ने हुन्छ। त्यसैले तपाई बुज्नुहोस् कि, पेट घटाउनकै लागि भनेर कुनै पनि स्लिमिङ बेल्टको भर पर्नु भनेको आफ्नो पैसा खेर फाल्नु मात्रै हो।