काठमाडौं– आयुर्वेदमा भोजनलाई विशेष महत्व दिइएको छ। आयुर्वेद भन्छ, ‘सम्यक र समुचित भोजनले रोगबाट टाढा राख्छ।’ हाई क्यालोरीयुक्त भोजन भन्दा दाल भात तरकारी शरीरको लागि उपयुक्त हुने गर्दछ।
भर्खरै जर्मनीको ल्यूबेक यूनिवर्सिटीमा गरिएको शोधले नेपाली तथा भारतीय परम्परागत भोजनले आनुवांशिक बिमारी हुनबाट जोगाउने प्रमाणित गरेको छ। यस शोधले बिमारीको प्रमुख कारण डीएनए मात्रै नभएर, भोजनको भूमिका त्यो भन्दा पनि महत्वपूर्ण हुने थाहा भएको छ। भोजनले कैयौँ बिमारी हुनबाट जोगाउने कुरा पनि प्रमाणित भएको हो।
शोध टोलीले मुसामाथि दुई वर्षसम्म गरिएको अनुसन्धानबाट यो प्रमाणित भएको छ। पश्चिमी देशहरुमा उपभोगमा ल्याइने उच्च क्यालोरीयुक्त भोजनले आनुवांशिक मानिने रोगमा वृद्धि गराउँछ, तर भारतीय महाद्वीपमा सेवन गरिने कम क्यालोरीको परम्परागत भोजनले आनुवांशिक रोगमा रोकथाम गर्छ। डा. यास्का गुप्ता भन्छन् ‘अहिलेसम्म वैज्ञानिकहरुले आनुवांशिक रोगलाई डीएनएको आँखाले मात्रै हेर्ने गरेका थियौँ। हामीले आफ्नो अनुसन्धानमा आनुवांशिक रोगमा भोजनको दृष्टिकोणबाट पनि अध्ययन गर्यौँ।’
अनुसन्धानको रिपोर्ट अनुसार पश्चिमी देशमा प्रचलित रहेका उच्च क्यालोरी युक्त खाने कुराहरु जस्तै पिज्जा, बर्गर जस्ता फास्टफुडले आनुवांशिक रोगलाई झनै बढाउने गरेको पाइएको छ भने, नेपाल र भारतको परम्परागत कम क्यालोरी युक्त शाकाहारी भोजन जस्तै दाल भात, साग सब्जी र खासगरी बेसारको प्रयोगले यस्ता अनुवांशिक रोगबाट बचाउनु को साथै शरीरको रक्षा गरी, ‘इम्युनसिस्टम’ बढाउने काम गर्छ। त्यसैले वैज्ञानिकहरु पनि हाई क्यालोरीयुक्त भोजन भन्दा दाल भात तरकारी खान सुझाव दिन्छन।