काठमाडौं– आलु हरेक जसो नेपालीको भान्सामा सबैभन्दा धेरै पाक्ने परिकार हो। धेरै मानिसहरु मासुजन्य परिकारको बढी उपभोग गर्ने गर्छन्, तर मासु धेरै खाँदा स्वास्थ्यलाई बेफाईदा गर्दछ। मासुजन्य परिकार भन्दा तरकारी र हरियो सागपातमा खानाले स्वास्थ्यलाइ फाइदा गर्छ। त्यसैले यस्ता परिकारमा जोड दिनु आवश्यक हुन्छ।
आज हामी तपाईलाई आलुको परिकार बनाउने तरिका प्रस्तुत गर्दैछौं। आलुको परिकारमा पनि आज हामी दही आलुको परिकार बनाउने बारे जानकारी दिदैछौं। त्यसका लागि आवश्यक सामाग्री तयार पारि दही आलुको परिकार बनाएर आफू पनि खानुहोस् र अरुलाई पनि खुवाउनुहोस्।
यस्ता छन्, दही आलुको परिकार बनाउने आवश्यक सामाग्री
उसिनेको आलु ३५० ग्राम, तेल दुई चम्चा, सर्स्युको तेल एक चम्चा, सर्स्युका दना एक चम्चा, हिंग सानो चम्चाको एक चौथाइ, जीरा एक चम्चा, धनियाँ एक चम्चा, बेसार आवश्यकता अनुसार, नुन आवश्यकता अनुसार, रातो खुर्सानी आवश्यकता अनुसार र दही २७० ग्राम। यति सामान तयार गरेपछि तपाईले दही आलु बनाउन सुरु गर्न सक्नु हुनेछ। त्यसका लागि तपाईले एक ओभानो भाँडोलाई ग्याँस वा आगोमा बसाल्नु होस्, उक्त भाँडोमा दुई चम्चा तेल राख्नुहोस्, तेल खारिएपछि बोक्रा छोडाइएको आलु हाल्नुहोस् र पाँच मिनेटसम्म पकाउनुहोस्। त्यसपछि अर्को एक भाँडामा सर्स्युको तेल, दाना र जीरा हालेर भुट्नुहोस् र त्यसमा बेसार, हिंग, नुन र रातो खुर्सानी हालेर मज्जाले मिसाउनुहोस्।
अब यसमा दही हालेर मधुरो आगोमा पाँच मिनेटसम्म पकाएर त्यसमा आलु हालेर फेरी दुई मिनेट पकाउनुहोस्। त्यसलाई दुई मिनेट पकाएपछि त्यो खानका लागि तयार हुन्छ। अब त्यसमा केही धनियाँका पात माथि बाट राखेर मजासँग खानुहोस् र अरुलाई पनि खुवाउनुहोस्। यो परिकार मानिसको संख्या अनुसार सामाग्रीहरु थपघट गरि बनाउन सक्नु हुनेछ।