काठमाडौं– बिहान उठेको एक घन्टाभित्र केही न केही खानेकुरा खानु स्वास्थ्यका लागि लाभदायी मानिन्छ। करिब ८० प्रतिशत नेपालीहरुले ब्रेकफास्टका रूपमा बिहान खाजा नखाने गरेको तथ्यांक छ। प्रायः हामी बिहान चिया मात्र खान्छौँ। त्यो भन्दा बढी खाइहालियो भने बिस्कुट खान्छौँ। त्यो पनि थोरै मात्रामा, हामीहरुमा बिहान खाजा खानुको सट्टा खाना र दिउँसोको खाजा अलि गहकिलो खाने प्रचलन छ। जसको कारण अधिकांश नेपालीहरुलाई ग्यास्ट्रिकको समस्या हुने गर्दछ।
जुन स्वास्थ्यका दृष्टिकोणले राम्रो मानिदैन। स्वस्थ रहन ब्रेकफास्ट खान अनिवार्य छ। यसका लागि हरेक बिहान ब्रेकफास्टमा कम्तीमा पनि २५ सय क्यालोरीयुक्त खानेकुरा लिन आवश्यक हुन्छ।
ब्रेकफास्ट खाएमा मजबुद शरीर
दूध– ब्रेकफास्टमा एक गिलास दूध खान आवश्यक छ। दूधले पनि शरीरलाई चाहिने क्यलोरी प्रदान गर्छ। बिहानको खानासँगै दूध खाएमा शरीरलाई फाइदा पुर्याउछ।
अन्डा– अन्डा राम्रो क्यालोरीयुक्त पौष्टिक आहार हो। त्यसैले यो ब्रेकफास्टका लागि उपयुक्त हुन्छ। दैनिक दुईवटा अन्डा खाँदा दिनभरलाई आवश्यक क्यालोरीको मात्रा उपलब्ध हुन सहयोग र्पुयाउँछ।
फलफूल– फलफूल उच्च क्यालोरीयुक्त खाद्यपदार्थ हो। यसर्थ, मौसमी फलफूल बिहानको खाजामा खाए फाइदा गर्छ। तर, अमिलो फलफूल खाँदा एसिडिटी बढ्ने भएकाले ख्याल गर्नुपर्छ। यसर्थ, बिहानै अमिलो फलफूल खाँदा भने आफ्नो स्वास्थ्य अवस्था ख्याल गर्नुपर्छ।
कार्बोहाइड्रेटयुक्त खानेकुरा– कार्बोहाइड्रेटयुक्त खाना बिहानै खान सकिन्छ। यसले दिनभर ऊर्जाशील रहन मद्दत गर्छ। यी बाहेक सम्भव भएमा खाना, मासु, तरकारी, सागसब्जी आदि खाँदा स्वास्थ्यलाइ लाभ मिल्छ। त्यसैले ब्रेकफास्टमा करिब २५ सयदेखि तीन हजार क्यालोरी भएका खानेकुरा आवश्यक छ।
स्याउ– स्याउ जुनसुकै उमेर र अवस्थाका मानिसले पनि खान सकिन्छ। एउटा स्याउमा एक सयदेखि दुई सयसम्म क्यालोरी पाइन्छ। तसर्थ, बिहान सधैँ एउटा स्याउ खाएमा फाइदा पुग्छ। स्याउमा एन्टिअक्सिडेन्ट पाइन्छ। जसले बिरामीलाई फाइदा गर्छ।
ब्रेड– बिहानको नास्तामा पाउरोटी, डुनोट भन्दा पनि ब्राउन ब्रेड खानु लाभदायी हुन्छ। एउटा सामान्य ब्रेडमा करिब एक सय ५० भन्दा बढी क्यालोरी पाइन्छ।