कास्की– जिल्लाको माछापुच्छ्रे गाउँपालिका–३ घाचोक निवासी मिर्गाैला रोगबाट पीडित एक किशोरीले आफ्नो जीवन बचाइदिन याचना गरेकी छन्। सो रोगको उपचार गर्न आर्थिक अभाव भएपछि १९ वर्षीया किशोरी सुस्मिता परियारले जीवन रक्षा गरिदिन सार्वजानिक अपील गरेकी छन्।
चिकित्सकका अनुसार उनको दुवै मिर्गाैलाले काम गर्न छाडेका छन्। उनी गत फागुन ९ गते स्वास्थ्यमा एक्कासि समस्या आएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका लागि पगेकी थिइन्। उपचारकारका क्रममा चिकित्सकले उनको दुवै मिर्गाैलामा समस्या रहेको पत्ता लगाएका थिए। अहिले उनको हप्तामा दुई दिन डायलाइसिस गर्ने गरिएको छ।
मिर्गौला प्रत्यारोपण गर्न पोखरामा सम्भव नहुँदा चिकित्सकले काठमाडौ रिफर गरेका छन्। ‘पैसा छैन। कसरी काठमाडौ जानु ? डाक्टर सरले छिटो काठमाडौ जानुस् भनेका छन्। ‘गहभरि आँशु पार्दै पीडित किशोरीले भनिन्। उनको बुबाआमाले मजदूरी गरेर दैनिक छाक टार्दै आएका छन्। ‘उपचार गर्न परिवारसँग पैसा छैन। मेरो जीवनरक्षा गरिदिन सहयोगी हातालाई विनम्र अनुरोध गर्दछु।’, उनले भनिन्। कक्षा १२ उत्तीर्णपछि स्नातक अध्ययनको तयारीमा रहेकी उनले गत मङ्सिरदेखि गाउँकै मेघराज आधारभूत विद्यालयमा निजी स्रोतमा अध्यापन गर्नसमेत शुरुआत गरेकी थिइन।
किशोरीका बुबा सुरेश परियारले चिकित्सकले आफन्तले मिर्गौला प्रदान गरेको अवस्थामा एउटा मिर्गौला प्रत्यारोपणका लागि रु १८ देखि २० लाखसम्म खर्च हुने बताएको जानकारी दिएका छन्। उनले आवश्यक सहयोग गरेर छोरीको जीवन बचाइदिन आग्रह गरेका छन्। किशोरीको स्वास्थ्य समस्याका बारेमा सार्वजनिक भएपछि अहिले गाउँवासी स्वदेश तथा विदेशमा रहेका व्यक्तिले सहयोग गर्ने क्रम शुरु भएको छ। स्थानीय केही युवाले ‘मिर्गौला पीडित सुस्मिता बचाउ’ अभियानमार्फत सहयोग जुटाउन शुरु गरेका छन्।
किशोरीलाई सहयोग गर्न इच्छुक व्यक्तिले माछापुच्छ्रे बैंकमा परियारको नाममा खोलिएको खाता नं १८६५५२४६६६७६९०१६ मा जम्मा गर्न सकिने गरी प्रबन्ध गरिएको अभियानकर्मी जिएम रानाभाटले बताएका छन्। रासस