काठमाडौं– गृहसचिव महेश्वर न्यौपानेले नेपाल प्रहरी अस्पताल महाराजगञ्जबाट दिईने सेवा चुस्त बनाउन निर्देशन दिएको छ। अस्पताललाई थप गुणस्तरीय सेवा प्रवाह गर्न सक्ने बनाउनको लागि मन्त्रलायको तर्फबाट आवश्यक सहयोग गर्ने गृहसचिव न्यौपानेले प्रतिबद्धता जनाएका छन्।
स्वास्थ्यकर्मीको सेवा प्रवाह गर्ने शैली र व्यवहारलेनै अस्पतालको गुणस्तरीयता देखाउने भएकाले यसप्रति स्वास्थ्यकर्मीहरु सचेत हुनुपर्ने उनले बताए। सबै प्रहरी कर्मचारी र नागरिकको आशाको केन्द्र प्रहरी अस्पताल भएकाले यसबाट प्रवाह गर्ने सेवामा कुनै पनि विभेद् गर्न नहुनेमा उनको जोड थियो।
अस्पतालमा प्रयोगशालाको गुणस्तरीयता बढाउने, बेड सङ्ख्या थप गर्ने, नर्सिङ कलेजको सञ्चालन गर्नेलगायत कार्यका लागि मन्त्रालयले आवश्यक सहयोग गर्ने गृहसचिव न्यौपानेले उल्लेख गरे। नेपाल प्रहरी अस्पातलस्थित रेडियोलोजी विभाग, मेडिकल वार्ड, पोष्टअप, डेण्टल विभाग, अर्थो वार्ड, स्त्री तथा प्रसुति वार्ड, सर्जिकल वार्ड, भिआइपी डिलक्स, ओपिडी, इमरजेन्सी, प्याथोलोजी, हेमोडायलासिस, आइसियु, प्रस्तावित कोरोना भाइरस क्वारेन्टाइन वार्ड, आइसोलेसन वार्डको निरीक्षण उनले गरेको थियो।
प्रहरी महनिरीक्षक ज्ञवालीले रोगको पहिचान र मानवीय संवेदनासँग जोडिएको विषय चिकित्सा सेवा भएकोले यस क्षेत्रमा कर्तव्य पालना गर्न पाउनु हरेक प्रहरी कर्मचारीको अवसर भएकोले सेवाभावको उत्कृष्टता प्रस्तुत गर्नुपर्ने विश्वास व्यक्त गरे। (रासस)