एजेन्सी– लण्डनको ह्वाइटच्यापलका वैज्ञानिकहरुले कोरोनाभाइरसको भ्याक्सिन बनाउनको लागि २४ जनाको माग गरेका छन्। वैज्ञानिकहरुका अनुसार जो यो प्रयोगमा आएर खोपको परीक्षण आफ्नो शरीरमा गराउनेछन् उनलाई ३५०० पाउण्ड (५ लाख ३८ हजार नेपाली रुपैयाँ) पुरस्कार दिइनेछ। तर, यसको लागि परीक्षणमा सहभागी हुनेले पहिले आफूलाई कोरोनाभाइरसबाट संक्रमित गराउनुपर्नेछ।
बेलायती पत्रिका डेलिमेलको समाचारअनुसार अण्डनको ह्वाइटच्यापलस्थित द क्वीन मेरी बायोइन्टरप्राइजेज इनोभेसन सेन्टरका वैज्ञानिक आफ्नो यो प्रयोगका लागि २४ जनालाई भर्ना गर्दैछन्। यी २४ जनामा कोरोनाभाइरसको भ्याक्सिनको परीक्षण गरिनेछ। जुन भ्याक्सिनको परीक्षण यी २४ जनामा गरिनेछ त्यसमा सार्स रोगको औषधी पनि मिसिएको छ। यो परीक्षणमा सहभागी हुनेहरुको शरीरमा सुरुमै कोरोनाभाइरसको कमजोर स्ट्रेन हालिनेछ। त्यसपछि भाइरस बढ्ने प्रतिक्षा गरिनेछ।
भाइरस बढ्न थालेपछि बिरामीलाई भ्याक्सिन दिइनेछ। यो परीक्षणका क्रममा एचभीभो कम्पनीले बनाएको औषधीको प्रयोग गरिनेछ। परीक्षणका लागि बोलाइएका २४ जनालाई १४ दिनका लागि क्वारेन्टाइनमा राखिनेछ। यो १४ दिनमा वैज्ञानिकहरुले औषधीको प्रभावको अध्ययन गर्नेछन्। अहिले युरोपेली देशहरुका ३५ वटा कम्पनीहरुले कोरोनाभाइरसको औषधीबारे अनुसन्धान गरिरहेका छन्। बेलायत सरकारले कोरोनाभाइरसको औषधी खोज्नका लागि ४६ मिलियन पाउण्ड बजेट छुट्याएको छ।
अहिलेम्म विश्वभर कोरोनाभाइरसको संक्रमणबाट १ लाख १९ हजारभन्दा बढी संक्रमित भइसकेका छन्। झण्डै ४३ सय जनाको मृत्यु भइसकेको छ। चीनमा मात्र ८० हजार भन्दा बढी संक्रमित छन्। ३१ सय भन्दा धेरैले चीनमा मात्र ज्यान गुमाइसकेका छन्। दोस्रो ठूलो प्रभावित देश इटली हो। यहाँ १० हजारभन्दा धेरै संक्रमित छन्। ६ यभन्दा धेरैको मृत्यु भइसकेको छ।