काठमाडौं– गुर्जो नेपालमा पाइने महत्त्वपूर्ण जडीबुटी हो। गुर्जोमा रोग प्रतिरोधात्मक क्षमता हुने भएकोले आयुर्वेदिक चिकित्सकहरुले यो जडीबुटीको प्रयोग गर्न सुझाव दिएका छन्।
औषधिय गुणले भरिपूर्ण यो लहरा नेपाली ग्रामीण भेगमा ज्वरो, रुघोखोकी र चिसोमा लाग्ने बाथलगायत अन्य रोगहरुको औषधिको रूपमा प्रयोग गरिन्छ। साथै विभिन्न खालको एलर्जी, चर्मरोग, पेट रोगमा यसलाई रामवाण मानिन्छ। मधुमेह, क्यान्सरसम्मका लागि गुर्जो अचूक औषधि रहेको आयुर्वेद चिकित्सहरुको दाबी रहेको छ।
हाल विश्वभर कोरोना भाइरसको सन्त्रास फैलिइरहेको छ। र अहिले सम्म कोरोना भाइरसको खोप वा कुनै उपचार पद्धति विकास नभएकाले देशभित्रै रहेका जडीबुटीको उपयोग गर्नुपर्ने सुझाव विज्ञहरूको रहेको छ। विश्व स्वास्थ्य सङ्गठनले २० प्रकारका खोपको परीक्षण भइरहेको जनाए पनि त्यो सर्वसुलभ हुन समय लाग्ने बताएको छ। चीनमा पनि परम्परागत औषधिय पद्धतिलाई जोड्दै खोपको परीक्षण भइरहेको सूचना प्रवाह भएको छ। यस वनस्पतिलाई हिन्दीमा गिलोय पनि भनिन्छ।