काठमाडौं– आजकल अधिकांश बालबालिकाहरु बजारमा पाइने प्याकेटका तयारी जंकफुड खाने गर्दछन्। जंकफुड खाने बानी लागेका बालबालिका दाल, भात, तरकारी, सागसब्जी, फलफूल जस्ता खानेकुरा खान मन गर्दैनन्। प्याकेटका खानामा पर्याप्त मात्रमा पोषण पाईदैन त्यसैले प्याकेटका तयारी खाना खाने बच्चाहरुमा पुड्कोपनको समस्या हुनसक्छ।
पुड्कोपन कम गर्न जान्नैपर्ने उपायः
– आफ्ना सन्तानमा पुड्कोपन नहोस् भन्नका लागी गर्भवती अवस्थादेखि नै नियमित गर्भजाँच गराउनुपर्दछ र चिकित्सकको परामर्श अनुसार गर्भ अवस्थामा आइरन र क्याल्सियम चक्किको सेवन गर्नुपर्दछ। गर्भवती हुँदा अन्य समय भन्दा बढि मात्रामा पौष्टिक आहार खाने र पहेँलो फलफूल, माछामासु, सागसब्जी दिनहुँ सेवन गर्नुपर्छ।
– गर्भवस्थामा तनाव हुने कुनै काम गर्नु हुँदैन। साथै गर्भवती महिलासंग झगडा गर्ने, कुटपिट गर्ने वा रुवाउने काम गर्नुहुँदैन, शिशु जन्मिएपछि लगाइने सबै खोपहरु खोप तालिका अनुसारको समयमा लगाउने र शिशु जन्मिएपछि शिशुको उचित स्याहार गर्नुपर्छ। कम्तीमा ६ महिनासम्म आमाको दूधको मात्र सेवन गराउनुपर्छ।
- बच्चाको खानामा कोदो, फापर, गहुँ वा चामलको प्रयोग गर्ने, झोल वा दाल अनिवार्य रूपमा खुवाउने, हरीयो सागसब्जी, पाकेका फलफुल तथा प्रशस्त पानी खुवाउने, र कम्तीमा साताको २ पटक दूधदहि, माछामासु खाने, खाजामा मकै, भटमास, चना, चिउरा लगायतको सामाग्री खानेबानी बसाल्नु पर्दछ।