काठमाडौं– सामान्यतया कानभित्र संक्रमण वा चोट लाग्दा त्यहाँबाट तरल पदार्थ बग्नुलाई कान पाक्नु भनिन्छ। यसलाई मेडिकल भाषामा ओटाइटिस मिडिया भनिन्छ। कानलाई बनावटका आधारमा बाहिरी, मध्य र भित्री गरी तीन भागमा वर्गिकरण गरिएको हुन्छ।
कानको मध्य भागमा विभिन्न कारणले संक्रमण हुँदा पिप जम्छ। जमेको पिपले कानको जाली प्वाल पारेर बाहिर निस्कनुलाई कान पाकेको भनिन्छ। बच्चाहरुमा कान पाक्दा कान दुख्ने, ज्वरो आउने र रुघाखोकी लाग्ने जस्ता लक्षणहरु देखिन्छन्।
बालबालिकाको कान किन पाक्छ ?
१. लामो समयसम्म रुघाखोकी लाग्दा वा आमाले सुतेर दुध खुवाउँदा बच्चाहरुलाई कान पाक्ने समस्या देखिन्छ।
२. बच्चालाई आमाको दुध खाँदा असजिलो भए वा कानमा दुध पसेमा यो समस्या देखिन सक्छ।
३. फोहोर पानीमा खेल्ने, नुहाउँदा कानमा पानी परेमा वा कानको जालीमा असर पर्ने गरी कान कोट्याउँदा पनि कान पाक्न सक्छ।
४. नाक बन्द हुँदा, नाकभित्र र घाँटीको माथिल्लो भागमा मासु पलाउँदा तथा पिनास हुँदा पनि कान पाक्न सक्छ।
यसबाट जोगिने उपायहरुः
१. आमाले दूध खुवाउँदा कानमा पर्न दिनुहुँदैन।
२. बच्चाको कानमा तेल हाल्नु हुदैन।
३. बच्चाहरुलाई फोहर पानीमा खेल्न दिनुहुँदैन।
४. कानमा कपास राखेर बच्चालाई नुहाइदिने गर्नुपर्छ।
५. रुघाखोकी लाग्नबाट बचाउने वा लागेमा तत्काल उपचार गराउँनुपर्छ।
६. बच्चाको कानमा जे पायो त्यहिले कोट्याउनु हुँदैन।
७. कानमा समस्या देखिए मनलाग्दो औषधिको प्रयोग गर्नुहुँदैन।
८. कान दुख्दा तुलसीकाे पातको रस हाल्नु हुँदैन।