एजेन्सी– विश्वव्यापिरुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण मृत्यु हुनेको संख्या ३ हजार ४ सय ९५ पुगेको छ भने १ लाख २ हजार २ सय २४ जना संक्रमित भएका छन्।
चीनको हुबेई प्रान्तको वुहान शहरबाट फैलिएको यो कोरोना भाइरसबाट चीनमा अहिलेसम्म ज्यान गुमाउनेको संख्या ३ हजार ७० पुगेको छ भने ८० हजार ८ सय ५१ जना संक्रमित भएका छन्। जसमध्ये ९९ जनामा नयाँ संक्रमित थपिएका हुन्।
त्यस्तै चीनपछि बढी संक्रमित राष्ट्र दक्षिण कारियामा ६ हजार ७ सय ६७ जनामा संक्रमण छ भने ४३ जनाको मृत्यु भएको छ। त्यस्तै इरानमा ४ हजार ७ सय ४७ जनामा संक्रमण फैलिएको छ भने १२४ जनाले ज्यान गुमाएका छन्।
त्यस्तै इटालीमा ४ हजार ६ सय ३६ जनामा संक्रमण फैलिएको छ भने १९७ जनाको मृत्यु भएको छ। अमेरिकामा थप दुई जनाको मृत्यु भएसंगै १५ जना अमेरिकि नागरिकले कोरानाको कारण ज्यान गुमाएका छन्। त्यस्तै हालसम्म यो भाइरसको संक्रमण ९७ वटा मुलुकममा फैलिसकेको छ।
सरकारको सम्पुर्ण अंग मिलेर काेरोनाको रोकथाममा लाग्न डब्ल्युएचओका महानिर्देशकको आग्रह
विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रस अधानोम घ्रेबेससले सम्पुर्ण राष्ट्रका सरकारलाई कारोना भाइरस फैलिन नदिन सतर्कता अपनाउन आह्वान गरेका छन्। उनले आफ्नो ट्विटरमार्फत यस्तो आग्रह गरेका हुन्।
उनले लेखेका छन्, ‘हामी देशका नेताहरुलाई आफ्नो योजनालाई परिचालन गर्न आह्वान गर्दछौं। स्वास्थ्य मन्त्रालयले मात्र होईन सुरक्षा, कूटनीति, वित्त, वाणिज्य, यातायात, व्यापार, सूचना र अन्य सरकारको अंगले मिलेर योजना परिचालन गर्नुपर्दछ।’ हामी केही देशहरुलाई लिएर चिन्तित छौँ। जुन देशको राजनितिक प्रतिबद्धता हालको खतराको सामना गर्नेे स्तरसँग मेल खाँदैन। यो कुनै ड्रिल होइन, हार खाने समय होइन, बाहाना बनाउने समय होइन, यो समय भनेको सबैजना मिलेर लड्ने समय हो।’

कोरोनाको कारण अर्थतन्त्रमा क्षती
कोरोनाभाइरसले विश्वव्यापी अर्थतन्त्रमा करिव ३ सय ४७ अर्ब डलर बराबरको क्षति हुने एसियाली विकास बैंक (एडीबी)को अनुमान छ। प्रारम्भिक आँकडा अनुसार नै विश्वमा कूल ग्राहस्थ उत्पादनको १८ प्रतिशत क्षति विश्व अर्थतन्त्रले बेहोर्ने अनुमान छ। त्यसमधये नेपालको हकमा कूल गार्हस्थ उत्पादन (जीडीपी)को ०.१३ प्रतिशतसम्म आर्थिक क्षति हुने प्रक्षेपण एडीबीले गरेको छ।
कोरोनाको प्रभाव बढ्दै जाँदा जीडीपीमा १.११ प्रतिशतसम्मको क्षति नेपालमा हुने अनुमान छ। यसको मतलव ३२१.७ मिलियन डलरसम्मको नोक्सानी नेपाली अर्थतन्त्रमा हुनेछ।
विश्व बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार नेपालमा होटेल र रेष्टुरेन्ट क्षेत्र नराम्रोसँग प्रभावित हुने भएको छ। यस क्षेत्रमा जिडीपीको ०.८ प्रतिशतसम्मको क्षति हुनेछ। यसबाहेक व्यापार र सेवा क्षेत्र समेत कोरोनाका कारण प्रभावित हुनेछ।
कृषि, उद्योग र उत्पादन तथा यातायात क्षेत्रमा भने प्रभाव कम देखिने एसियाली विकास बैंकले जनााएको छ। पछिल्लो अध्ययनबमोजिम र नेपाली अर्थतन्त्रमा कोरोनाको प्रभाव ३६.७८ मिलियन अमेरिकी डलर बराबरको क्षति हुने आंकलन गरिएको छ।
नेपालमा कोरोनाका कारण करीव १५ हजार जनाको रोजगारी प्रभावित हुने आंकलन गरिएको छ। त्यस्तै कृषि र उत्पादन क्षेत्रले भने धेरै रोजगारी गुमाउनु पर्ने छैन। त्यसो त अधिकतम् प्रभाव पर्दा नेपालले २ लाख २३ हजारसम्म रोजगारी गुमाउन सक्ने चेतावनी एसियाली विकास बैंकले दिएको छ। एडीबीले चीनबाट सुरु भएको कोभिड–१९ को महामारीले एसियाका विकासशील अर्थतन्त्र भएका देशहरूमा उल्लेख्य असर पर्ने आँकलन गरेको छ।
यद्यपि हालसम्म प्राप्त तथ्यहरूका आधारमा यस महामारीले विश्वभरिमा कुल ७७ अर्ब अमेरिकी डलरदेखि तीन खर्ब ४७ अर्ब डलरसम्मको क्षति हुने प्रारम्भिक निष्कर्ष छ। त्यसमध्ये चिनले नै ४४ अर्बदेखि दुई खर्ब ३७ अर्ब डलरसम्मको घाटा ब्यहोर्नेछ भने चीनबाहेकका एसियाली विकासशील देशहरूले १६ अर्बदेखि ४२ अर्बसम्मको घाटा सहनुपर्नेछ।