रुपन्देही– रुपन्देहीको तिलोत्तमा नगरपालिकाले गर्भवतीसँग नगर उपप्रमुख कार्यक्रम शुरु गरेको छ। गर्भवती आमा र शिशुको स्वास्थ्य प्रबर्धन गर्न यो कार्यक्रम शुरु गरिएको नगर उपप्रमुख जागेश्वरी चौधरीले जानकारी दिएका छन्। कार्यक्रमले गर्भवती महिलाको आत्मविश्वास बढाउँदै गर्भावस्थामा ध्यान पुर्याउनपर्ने कुराबारे चेतना फैलाउने उनले बताएका छन्।
वडा नं १७ को गङ्गोलिया स्वास्थ्यचौकीमा आयोजित कार्यक्रममा गर्भवती महिलालाई पौष्टिक आहार र क्याल्सियम चक्की वितरण गरी गर्भवतीसँग नगर उपप्रमुख कार्यक्रम शुरु गरिएको हो। नगरपालिकाले यसअघि नै गर्भवतीका लागि चाहिने क्याल्सियम निःशुल्क दिने निर्णय गरेको थियो। एक जना महिलाका लागि गर्भधारण गरेको तीन महिनादेखि सुत्केरी भएको ४५ दिनसम्म २२५ चक्की क्याल्सियम चाहिने स्वास्थ्यकर्मी बताउँछन्।
नगरवासीको स्वास्थ्यमा सुधार ल्याउँन तथा औसत आयु बढाउन नगरपालिकाको आन्तरिक स्रोतबाट निःशुल्क क्याल्सियम र पौष्टिक आहार प्रदान गरिएको नगर प्रमुख वासुदेव घिमिरेले बताएका छन्। भौतिक निर्माण मात्र विकास होइन महिला र शिशुको स्वास्थ्य सुधार गर्नु पनि विकास हो भन्ने मान्यतासाथ यो कार्यक्रम सञ्चालन गरिएको बताउँदै उपप्रमुख चौधरीले कार्यक्रमबाट लाभ लिन सम्पूर्ण गर्भवती महिलाहरुलाई आग्रह गरेका छन्।
गर्भावस्थामा नियमित चार पटक सरकारी स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण गराउनेलाई पौष्टिक आहार दिने व्यवस्था मिलाइएको स्वास्थ्य शाखा प्रमुख मोतीप्रसाद पौडेलले बताएका छन्। गर्भवती महिलाले अरु बेलाको तुलनामा पोषिलो खानेकुरा बढी खानुपर्छ भन्ने सन्देश दिनका लागि पौष्टिक आहार वितरण गरिएको उनले बताएका छन्।
पौष्टिक आहारमा घ्यू, चना, मसुरो, नरिवल, छोकडा, आयोनुन, ज्वानो, साबुन राखिएको छ। कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका खोप अधिकृत भेषराज शर्माले तिलोत्तमाले शुरु गरेको सुत्केरीलाई थप प्रोत्साहन भत्ता, निःशुल्क क्यालसियम, पौष्टिक आहार वितरणजस्ता कार्यक्रमले मातृशिशु मृत्युदर कम गराउने बताएका छन्। यस्ता कार्यक्रमले गर्भावस्थामा चारै पटक गर्भ जाँच गर्नेको सङ्ख्यामा वृद्धि हुने उनको भनाइ थियो।
रासस