काठमाडौं– स्वस्थ जीवनका लागि दिनमा ६ मिनेट समय दिन सकेमा दाँत तथा मुखका ९० प्रतिशत रोगबाट बच्न सकिन्छ। दाँत तथा मुखको समस्या भएका बिरामी ग्रामिण भेगमा अत्याधिक भएकाले ग्रामिण भेगका स्वास्थ्य संस्थामा दाँत चिकित्सकको दरबन्दी राख्न जरुरी रहेको दन्त चिकित्सकहरुको भनाइ रहेको छ।
दाँत तथा मुखमा समस्या आएपछि मात्र जचाउन जाने प्रवृत्तिले मुख तथा दाँतका बिरामी बढ्दै गएको चिकित्सकहरु बताउँछन्। चिकित्सा शास्त्रमा गरिएको अनुसन्धान अनुसार मानिसलाई हुने शारिरीक समस्याहरुमध्ये मुख तथा दाँत सम्बन्धी समस्याहरु बढी पाइएको छ।
मानिसको जीवनकालमा दाँत सड्ने, मुख गन्हाउने, दाँतबाट रगत आउनेदेखि मुखको क्यान्सरसम्म रोगबाट पीडित हुने गरेको पाइन्छ। दाँतमा समस्या आउँदा वा गिजा तथा मुखमा संक्रमण हुँदा निस्कने विकार रगतमा मिसिएर रक्तचाप, जोर्नी तथा हड्डीको रोग, मधुमेह, मृगौला, मुटु तथा फोक्सोमा समेत असर गर्न सक्ने दाँत तथा मुख रोग विशेषज्ञहरु बताउँछन्।
त्यस्तै दाँत तथा मुख स्वस्थ राख्न बिहान बेलुकी खाना खाइसकेपछि फ्लोराइडयुक्त मन्जनले ब्रस गर्ने, अरु बेला पनि केही खाएपछि कुल्ला गर्ने तथा हरियो सागपात र रेसादार फलफूल तथा तरकारी समावेश सन्तुलित खाना खानुपर्ने चिकित्सकको सुझाव रहेको छ।