काठमाडौं– एकपटक उमालेर चिस्याइसकेको पानीलाई फेरि उमालेर खानु स्वास्थ्यलाई हानिकारक हुने देखिएको छ। यसरी पटक पटक पानीलाई उमाल्दा पानीका अणुहरुको संरचनामै परिवर्तन आउन सक्ने र यो स्वास्थ्यका लागि हानिकारक हुने विज्ञहरु बताउँछन्।
पानीलाई बारम्बार उमाल्दा यसमा आर्सेनिक, नाइट्रेट तथा फ्लोराइडको मात्रा गाढा बन्दछ, जसले सरीरलाई नोक्सान र्पुयाउँछ। विज्ञहरुका अनुसार पानी उमाल्दाखेरि त्यसमा रासायनिक प्रतिक्रिया हुन्छ र त्यसमा भएका विभिन्न लवणहरुको संरचनामा परिवर्तन आउँछ।
सो पानी चिसिएपछि ती लवणहरु पूर्ववत रुपमै आउँछन्। तर जब चिस्याइसकेको पानी फेरि उमालिन्छ दोश्रोपटक हुने रासायनिक प्रतिक्रियाका कारण त्यसका लवणहरुको संरचनामा असन्तुलन हुने गर्दछ। पानीलाई तताउँदा यसमा हुने नाइट्रेट छुट्टिन्छ। जब यसलाई पटक पटक तताइन्छ उक्त नाइट्रेट विषाक्त पदार्थमा बदलिन्छ।
उच्च तापक्रमले नाइट्रेटलाई नाइट्रोसामाइन कारसिनोजेनिकमा बदलिदिन्छ। यो एकप्रकारको क्यान्सर गराउने तत्व पनि हो। पानीलाई पटक पटक तताउँदा त्यसमा भएको आर्सेनिक थिग्रिने तथा बढि गाढा बनेर हानिकारक तहसम्म पुग्दछ। यसले क्यान्सर, हृदयाघात तथा मस्तिष्क सम्बन्धि विभिन्न रोगहरुको खतरा उत्पन्न गराउँछ। साथै यसले मानिसको प्रजनन क्षमतामा पनि असर गर्दछ।
पानी धेरैपटक उमाल्नाले यसमा फ्लोराइडको मात्रा पनि बढ्दछ। यसले खासगरी बालबालिकामा मस्तिष्कजन्य रोगको खतरा बढाउँदछ।त्यसकारण एकपटक उमालिसकेको पानीलाई सफा भाँडोमा छोपेर राख्नुहोस् र पिउने गर्नुहोस्। चिसिइसकेको पानी खानुहुन्न भने तताएर मनतातो बनाउन सक्नुहुन्छ। तर फेरि उमाल्ने काम भने गर्नुहुँदैन।