काठमाडौं– आयुर्वेदका अनुसार अदुवा आफैँमा एक औषधिको गुण भएको मसला हो। अदुवामा जिंगेरोल, भिटामिन ‘सी’, क्रोमियम, म्याग्नेसियम तथा जिंक जस्ता तत्व पाइन्छ। अदुवाले रक्त प्रवाहलाई नियमित र सन्तुलित बनाएर रोग प्रतिरोधात्मक शक्ति बढाइ धेरैजसो रोगहरूबाट टाढा राख्ने काम गर्दछ।
बिहानै उठ्नेबित्तिकै धेरैजसो व्यक्तिहरू चिया खाँनमा सौखिन हुन्छन्। विभिन्न प्रकारको चियाहरूमध्ये अदुवा हालेको चिया पिउँदा शरीरमा निकै फाइदा हुने गर्दछ। जाडोमा मात्र खान मिल्ने भनिने, यो चिया गर्मीमा पनि सेवन गर्न सकिन्छ। अदुवाको चियामा अलिकति कागती र मह मिसाएर पिउँदा शरीरलाई स्वस्थ राख्ने गर्दछ।
अदुवा चियाको सेवनले पाचन प्रक्रियालाई सक्रिय पारी ग्यास्ट्रिक, कब्जियत जस्ता पेटसम्बन्धी विभिन्न रोग लाग्न दिँदैन भने, कब्जियत समेत हटेर जान्छ। यसले बारम्बार उल्टी हुने समस्यालाई समाधान गरेर पेट दुख्न दिँदैन, अदुवा चियाले छालालाई सफा चमकदार र चाउरी हुनबाट बचाएर जवान देखाउँछ।
त्यस्तै रक्त प्रवाहलाई सन्तुलित राखी रगतमा सुगरको मात्रा नियन्त्रण गर्नुका साथै रगतमा कोलेस्ट्रोलको मात्रा कम गरी मुटुरोगको जोखिमलाई कम गराउँछ। यसले शरीरमा ऊर्जा प्रदान गरी पुरानो रुघाखोकीलाई समेत निको पारेर घाँटीमा कफ जम्न र मुखबाट गन्ध आउन दिँदैन।