काठमाडौं – संसारका आधाजसो मानिसहरु खान नपाएर भन्दा खान नजानेर विभिन्न खाले स्वास्थ्यसँग सम्बन्धित समस्या झेल्दै आएका छन्। चिकित्सकको भनाई अनुसार आवश्यकताभन्दा बढी खाएको खानेकुराले शरिरलाई सञ्चो त गर्दैन नै त्यो खानेकुरा शरीरको लागि विष समान हुन्छ। कुन खानेकुरा कुन समयमा, कति, कसरी र कस्तो अवस्थामा खाने भन्नेमा ध्यान दिनएमा मानिसको स्वास्थ्य धेरै राम्रो हुन्छ र मानिस निरोगी बन्छ।
खानेकुरा खाँदा ध्यान दिनुपर्ने कुराहरू
औषधि – आली पेटमा औषधी खाँदा उत्तिकै होसीयार हुनुपर्छ। औषधिमा रहेको तत्व शरीरभित्र रहेका तत्त्वहरुसँग सिधै मिलेर रासायनिक प्रतिक्रिया दिँदा ठूलै समस्या निम्तन्छ। केहि औषधी छोडेर प्राय औषधी डाक्टरले पनि खाना खाएपछि खानको लागि भन्नुको कारण पनि यहि नै हो। यसमा पनि होसीयारी अपनाउनुहोला। नत्र रोग विसेक पार्न खाएको औषधीले अरु रोग ननिम्त्याउला भन्न सकिन्न।
दूध चिया– प्राय नेपालीहरु भन्ने गर्छन् कि बिहान उठेपछि दुध चिया नखाए फ्रेस नै हुन्न। बिहान उठ्ना साथ चिया नपिइ जाँगर त चल्दैन। तर एकबिहानै खाली पेटमा दूध हालेको चिया खानुहुन्छ भने अब स्वास्थयबारे सोच्ने बेला भयो। दुध चियाले तपाईंको पेटमा ग्याँस्ट्रिकको समस्या असाध्यै बढाउँछ।
अब विकल्प के त भननुहोला मनतातो पानी वा अघिल्लो दिन तामाको भाडा वा विजय सालको काठको ठेकीमा राखिएको पानी स्वास्थयका लागि निकै श्रेयकर हुन्छ। चिया नै नपिई हुँदैन भने ब्ल्याक टि वा ग्रीन टी पिउनु राम्रो हुने चिकित्सकको सुझाव पनि रहेको छ।
मसालेदार खाना– तपाई ब्रेकफास्टमा के लिनुहुन्छ ? बिहानै खालीपेटमा मसलेदार स्पाईसी वा धेरै पिरो खानेकुरा खानुहुन्छ भने, स्वास्थमा निकै ठूला समस्या देखिन्छ। यसमा अब सचेत हुनुहोस्। बिहान तपाईले लिनुभएको यस्तो ब्रेकफास्टले पुरै दिन पेटमा एसिडिटी बनाउँछ। चिकित्सक भन्छन् दिनभरी ढ्याउ आउने, अपाच्य भएजस्तो हुने, पेट पोल्ने, ग्यास आउने, अल्सर जस्ता रोग पनि देखिन सक्छ।
केरा– खाली पेटमा केरा खानु हुँदैन, केराले छिटो वजन बढाउन मदत गर्ने भएकोले दुब्लो पातलो मानिसहरु बिहानै केरा खाने गर्छन्। तर बिहानै केरा खानु स्वास्थ्यका दृष्टिकोणबाट राम्रो नहुने चिकित्सकहरु बताउँछन्। बिहानै खालीपेटमा सेवन गरेको केराबाट हाम्रो शरीरमा म्याग्निसियमको मात्रा दुई गुणा बढ्छ र शरीरमा रहेको क्याल्सियमसँग रासायनिक प्रतिक्रिया सुरु हुन्छ। परिणामस्वरुप पेट फुल्ने, ढुस्स हुने, ढ्याउ आउने, अपच हुने तथा एसिडीटि बढ्ने जस्ता समस्या देखिने कारणले गर्दा खालिपेटमा केरा खानुहुदैन।
गोलभेंडा– गोलभेंडा स्वास्थ्यका लागि फाइदाजनक नै हुन्छ। फेसमा कान्ति ल्याउन समेत यसको प्रयोग हुन्छ। तर तपाईलाई थाहा छ ? एकबिहानै खाली पेटमा गोलभेंडा खाँदा यसमा हुने अम्लले पेटमा रहेको ग्यास्ट्रोइंटस्टाइनल एसिडसँग रासायनिक प्रतिक्रिया गर्छ। परिणामस्वरुप पेट दुख्ने, ग्यास्टिक हुने, पेट पोल्ने, बान्ता हुने, पत्थरीको संभावना बढ्ने हुन्छ।
अल्कोहल– खाली पेटमा अल्कोहल खानु पनि विष सरह हुन्छ। यो कुरा विभिन्न अनुसन्धानले पनि देखाएका छन्। अझै घरेलु मदिराको सेवनले मानिसको मृत्यु समेत हुनसक्छ। त्यसैले चिकित्सक भन्छन् बिहान केही नखाइकन अल्कोहलजन्य पदार्थ नखानूस्।
कोल्ड ड्रिङ्स– खाली पेटमा कहिले पनि चिसो पेय पदार्थ पिउनु हुँदैन। जस्तै कोल्ड कफी वा कोल्ड ड्रिन्क्स वा सफ्ट ड्रिन्क्स। खाली पेट चिसो पेय पिउनाले पाचन क्रियालाई सुस्त बनाउँछ। यस्ता पदार्थमा हुने कार्बोनेट एसिड र पेटको एसिडसँग मिसिँदा गम्भीर समस्या निम्तिन सक्छ। पेटमा ग्यास भरिने, वाकवाकि हुने, वान्ता हुने जस्ता समस्या हुन्छ।
अमिलो फल– खाली पेटमा अमिलो फल खानु पनि हानिकारक हुन्छ। जस्तै सुन्तला, कागती, अम्बा, अचार, लप्सी आदि फल खाली पेट खानु हुँदैन। अंगुर, आँप तथा अमिलोयुक्त फलफूलले पनि पेटमा एसिड बन्छ।