काठमाडाैं– चीनबाट शुरु भएको कोरोनाभाइरस (केभिड १९)को संक्रमण विश्वभरका विभिन्न राष्ट्रहरूमा देखिन थालेको छ। पछिल्लाे समय विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले सार्वजनिक गरेकाे एक रिपाेर्टअनुसार काेराेनाबाट विश्वभरिमा ३ हजार २ सय ८६ जनाको मृत्यु भइसकेको छ भने एक नेपाली सहित ९५ हजार ४ सय ८८ मानिस सङ्क्रमित भएका छन्। यद्यपी संक्रमण भएकाे साे नेपालीकाे उपचार भैसकेकाे छ।
विश्वका ८४ देशमा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे छ जसमध्ये चीन, दक्षिण कोरिया, जापान, इटाली, इरान, फ्रन्स, जर्मनी, स्पेन तथा अमेरीका सबै भन्दा बढी प्रभावित राष्ट्र हाे। चीनमा कोरोना सङ्क्रमितको सङ्ख्या हाल सम्म ८० हजार ५ सय पुगेकाे छ भने ३ हजार १५ जना जनाको मृत्यु भइसकेको छ। सङ्क्रमित भएकामध्ये ५ हजार ९ सय ५२ जनाकाे अवस्था भने गम्भिर रहेकाे डब्ल्यूएचओकाे रिपाेर्टमा उल्लेख छ।
यसैगरि दक्षिण कोरियामा पनि संक्रमणले विशाल रूप लिएकाे छ। रिपार्टअनुसार दक्षिण कोरियामा मात्रै ५ हजार ७ सय ६६ जना सङ्क्रमित भएका छन् भने ३५ जनाले ज्यान गुमाइसकेका छन्। त्यस्तै कोरोनाभाइरस सङ्क्रमणका कारण इटलीमा हालसम्म १ सय ७ जनाको मृत्यु भइसकेको छ। सङ्क्रमितको सङ्ख्या ३० हजार ८९ पुगेसँगै त्यो युरोपको सबैभन्दा गम्भीर सङ्क्रमण बन्न पुगेकाे छ।
विश्वभर कोरोना भाईरस(कोभिड–१९)को संक्रमण र सन्त्रास बढेसँगै नेपालमा पनि सावधानीका थुप्रै उपायहरु अपनाउन थालिएको छ। यसै क्रममा सुन्दर यातायातले यात्रुको ज्वरो परिक्षण सुरु गरेको छ। सुन्दर यातायातले रिङरोडमा सञ्चालन गरेको इलेक्ट्रीक बस चढ्नेले अनिर्वायरुपमा ज्वरो जाँच गर्नु पर्ने भएको हो।
हाल रिङरोडमा सुन्दर यातायातले दुईवटा विद्युतीय बस सञ्चालन गरिरहेको छ। उक्त इलेक्ट्रीक बसमा ज्वरो आएका मानिसले यात्रा गर्न नपाउने जनाइएको छ। यसैगरी अन्तर्राष्ट्रिय आवागमनमा पनि कडाई गरेको छ। सरकारले सोमबार ‘ट्राभल एड्भाएजरी जारी गदै अत्यन्तै जरुरी कामबाहेक विदेश यात्रा नगर्न अनुरोध गरेको हाे।
यसअघि कोरोनाभाइरसको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा चार जनालाइ भर्ना गरिएकाे थियाे। यद्यपी भर्ना भएका चार जनामा कोरोना नभएको पुष्टि भएको थियाे।
थप जानकारीका लागि याे पनि पढ्नुहाेस्:
-टेकु अस्पताल भर्ना गरिएका चारैजनामा कोरोना नभएको पुष्टि
-कोराना संक्रमित नेपाली टेकु अस्पतालबाट फरार
नेपालले कोरोना प्रभावित देश चीन, जापान, दक्षिण कोरिया, इटाली र इरानकका नागरीकलाई अनअराइभल भिसा सुविधामा अस्थायी प्रतिबन्ध लगाएको छ भने कोरोना प्रभावित देशहरुमा उच्च शिक्षा अध्ययन गर्न जाने विद्यार्थीको लागी वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) दिन पनि रोकिएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको आफन्तलाई स्वागत तथा विदाईमा कडाई गरिनुको साथै स्थलमार्गबाट नेपाल भित्रिनेहरुलाई पनि अनिवार्य स्वास्थ्य परीक्षण गर्न सरकारले निर्देशन दिएको छ।
त्यस्तै नेपाल सरकार शिक्षा मन्त्रालयले चालु शैक्षिक सत्रको वार्षिक परीक्षा कक्षा १ देखि ९ सम्म फागुन २७ गतेदेखि चैत ५ गतेसम्ममा जसरी पनि सम्पन्न गरिसक्न देशभरीका विद्यालयहरुलाई निर्देशन दिएको छ।
कतिपय स्थानीय तहले कक्षा ८ को परीक्षा पनि अनुकूल समय मिलाएर आफैं सञ्चालन गर्न विद्यालयलाई अधिकार दिएका छन्। विगतमा जिल्ला स्तरीय भनिएको कक्षा ८ को परीक्षा स्थानीय तहबाट सञ्चालन गर्नुपर्ने कानुनी व्यवस्था छ।
यद्यपी कक्षा ११ र १२ को वार्षिक परीक्षा भने यसअघि निर्धारण गरिएकै मितिमा हुने परीक्षा बोर्डले जनाएको छ। बोर्डले कक्षा १२ को वार्षिक परीक्षा वैशाख ८ तथा ११ को वैशाख २१ गतेबाट सञ्चालन गर्ने तालिका यसअघि नै सार्वजनिक गरिसकेको छ।
कोरोना भाइरसको संक्रमण फैलन सक्ने आशंकामा सरकारले सभा, समारोह, गोष्ठी, सेमिनार, लगायतका भेला हुने प्रकृतिका कुनै पनि कार्यक्रमहरु आयोजना नगर्न पनि सूचित गर्ने निर्णय गरिएको छ।
यति बेला बजारमा सर्जिकल माक्सको पनि चरम अभाव देखिएको छ। कोरोना भाइरसको त्रासले औषधि पसलहरु तथा सर्जिकल फर्महरुले मास्क लुकाउन थालेको र मूल्यसमेत बढी लिएको भन्दै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा उजुरी समेत परेको छ। यस लगतै विभागले मास्क केन्द्रित अनुगमन थालेको छ।
बजारमा सर्जिकल माक्सको कृत्रिम अभाव देखिएपछि विभागले यो हप्तामात्रै १ दर्जन बढी मेडिकलहरुमा अनुगमन गरेको र अनुगमनका क्रममा औषधि पसल, डिपार्टमेन्टल स्टोर, खुद्रा पसलमा माक्सको मुल्य दोब्बर बनाइएको भेटिएको विभागले जनाएको छ।