एजेन्सी– कोभिड–१९ हुदाँ ज्वरो आउने, रुघा–खोकी लाग्ने र सास फेर्न समस्या हुनेजस्ता लक्षण देखिन्छन् । भाइरसबाट संक्रमित हुने अधिकांश व्यक्ति हल्का विरामी भएर सञ्चो भएको देखिएको छ। तर अन्य चिकित्सकीय जटिलता भएका व्यक्तिको हकमा भने कोभिड–१९का कारण निमोनिया लगायत अन्य जटिलता देखिने र त्यसको कारण ज्यान जान सक्ने खतरा हुन्छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाभाइरस कोभिड–१९ बाट हालसम्म संक्रमित भएकामध्ये ३.४ प्रतिशत व्यक्तिको मृत्यु भइरहेको छ। यो दर संक्रमितमध्ये एक प्रतिशतको मृत्यु हुने सिजनल फ्लूकोभन्दा बढी हो ।
विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस एधानोम घेब्रयससले कोरोनाभाइरसको प्रकोपलाई नियन्त्रण गर्न सकिने बताएका छन्। टेड्रोसले विश्वभरका देशलाई यसको नियन्त्रण प्रयासलाई बढाउन र उपचारमा संलग्न डक्टर र नर्सको सुरक्षामा सतर्कता बढाउन आग्रह गरेका छन्।
‘एकातर्फ कोभिड–१९ फ्लुभन्दा कम फैलिरहेको छ तर कोरोनाभाइरस लागिसकेपछि भने यसले फ्लूले भन्दा बढी जटिलता निम्त्याइरहेको छ । यसको अझै कुनै खोप भेटिएको छैन, यद्यपि यसलाई नियन्त्रण भने गर्न सकिन्छ ।’
तथापि प्रतिरोधात्मक उपकरणको विश्वव्यापी अभाव र मुल्यवृद्धिबाट महामारीविरुद्ध देशको क्षमता कमजोर हुने टेड्रोसले चेतावनी दिए । ती सामाग्रीको अभाव हुन नदिन सरकार र उद्योगले तिनको उत्पादन ४० प्रतिशतसम्मले बढाउनुपर्ने टेड्रोसले सुझाव दिए ।