काठमाडौं – खाँदा तितो भए पनि निम स्वास्थ्यका लागि निकै फाइदाजनक छ। निमलाई आर्युेवेदमा अमृततुल्य जडिबुटी मानिन्छ। निम बहुउपयोगी वृक्ष पनि हो।
यसको छायाँमा बस्दा वा नजिक रहँदा मात्र पनि धेरै रोग ठीक हुन्छ। त्यस्तैगरी निम, तुलसी, गुर्जी, ल्वाङ र सिधे नुन पानीमा पकाएर खाँदा ज्वरोबाट राहत पाइन्छ। निमको सुकेको पात अन्न वा भकारीमा राख्दा कीरा लाग्दैन, भने निमको ८–१० वटा कलिलो पात घिउमा भुटेर खाँदा अरुचि पनि कम हुन्छ।
निमको पात दहीसँग पिसेर दादमा लगाउँदा पनि दाद निको हुन्छ र निमको पानी सेवन गर्नाले दाँत र गिँजालाई चम्किलो, स्वस्थ र बलियो बनाउँछ। त्यस्तै यसको पातको रसले अनुहार तथा शरीरको छालाको रंग निखार ल्याउन पनि सहयोग गर्छ। निमको सुकेको पातको धुप जलाउँदा लामखुट्टे तथा अन्य जीव टाढा भाग्छन्, भने निद्रा पनि राम्रो लाग्छ।