काठमाडौं– चीनको हुबेइ प्रान्तको वुहान शहरबाट फैलिएको कोरोना भाइरसले यतिबेला विश्वलाई त्रसित बनाइरहेको छ। विश्वका ६४ बढी मुलुकमा कोरोना भाइरस फैलिसकेको छ। यस भाइरसबाट ३२ सय बढीको ज्यान गइसकेको छ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपाल कोरोनाको उच्च जोखिममा रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। कोरोना त्रास बढेसँगै भीडभाड तथा बजारमा निस्किँदा अनिवार्यरुपमा मास्कको प्रयोग गर्न चिकित्सकले सुझाएका छन्। मास्कको माग ह्वात्तै बढेसँगै कतिपय मास्क बिग्रेताहरु कालोबजारीमा लागेका छन्।
नेपाली बजारमा मास्कको कृतिम अभाव गराइरहेको भन्दै सरकारले त्यस्ता व्यापारीलाई कडा कारवाही गर्ने चेतावनी दिएको छ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मेडिकल क्षेत्रको बजार अनुगमन कार्यलाई तीव्रता दिने भएको छ। कोरोनाको त्रासमा सर्जिकल माक्स, सेनिटाइजेसनलगायत वस्तुको बजार माग बढिरहेको अवस्थामा त्यस्ता वस्तु लुकाउने र बढी मुल्यमा बेच्नलाई कारवाही गरिने विभागले जनाएको छ।
विभागले अनुगमनसँगै कालोबजारीमा संलग्नलाई कारवाही गर्ने जनाएको छ। मंगलबारमात्र नेपाल केयर सर्जिकल सप्लायर्सलाई कालोबजारी गर्ने उद्देश्यले माक्स लुकाएको भन्दै २ लाख रुपैयाँ जरिवाना गरिएको छ भने क्षेत्रपाटीकै सचिन ट्रेड कन्सर्नलाई पनि १० हजार रुपैयाँ जरिवाना गरिएको विभागले जानकारी दिएको छ।
बजारमा मास्कको अभाव गराइएको र मास्क अत्याधिक मूल्यमा बेच्ने काम भइरहेको भन्दै विभागले अनुगमनलाई तीव्रता दिएको विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले जनाएका छन्। महानिर्देशक सुवेदीले सर्जिकल माक्स अभावको विषयलाई नै केन्द्रमा राखेर बजार अनुगमन गरिने बताए।