एजेन्सी – कोरोना भाइरसबाट बच्नका लागि अनुहारमा मास्क लगाउने भ्रम धेरैमा रहेको छ। भाइरसबाट बच्न मास्क खासै प्रभावकारी नदेखिएको चिकित्सकहरुले बताएका छन्। यसको संक्रमणबाट जोगिनका लागि राम्रोसँग साबुन पानीले हात धुनु प्रभावकारी भएको सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन–सिडिसीले बताएको छ।
भाइरसबाट जाेगिन सिडिसीले राम्रोसँग हात धुने विधीलाई क्रमैसँग सिकाएको छ
१. पहिलो चरण
हातलाई सफा पानीले भिजाउनुहोस्। त्यसपछि हातमा साबुन राख्नुहोस्। किटाणु नाश गर्न पानीभन्दा साबुन बढी प्रभावकारी हुन्छ।
२. दोस्रो चरण
दुबै हातलाई रगडेर साबुनबाट फिँज निकाल्नुहोस्। फिँजलाई हातको बाहिर भागमा, औंलाको बीचमा र नङभित्रसम्म पुग्नेगरी दल्नुहोस्। फिँज निकाल्दा एक किसिमको घस्रण हुन्छ, जसले किटाणुलाई नष्ट गर्न र छालाबाट फोहोर निकाल्न मद्दत गर्छ। हातको कुनाकुनामा सफा गर्न नबिर्सनुहोस् किटाणुले कुनातिरै डेरा जमाएका हुन्छन्।
३. तेस्रो चरण
२० सेकेन्डसम्म हात धुनुहोस्। यो निश्चित समय होइन तर पनि २० सेकेन्डका लागि हात धुँदा माइक्रोब्स पखालिन्छन्।
४. चौथो चरण
सफा पानीले हात पखाल्नुहोस्। आफ्नो हातमा भएको किटाणुलाई निकालिसक्नु भएको छ। सफा पानीले यसलाई पखाल्ने काम गर्छ।
५. पाँचौं चरण
सफा रुमालले हात पुछ्नुहोस्। चिसो हातले सजिलै भाइरस सर्न मद्दत गर्छ। साबुन र पानी भाइरसविरुद्ध लड्ने उत्तम प्रतिरक्षा तत्व हुन् तर हात धुन सम्भावना छैन भने ह्यान्ड स्यानिटाइजर ठिकैको विकल्प हुन सक्छ।
स्यानिटाइजर हातमा लिएर कम्तीमा २० सेकेन्डसम्म दुबै हात रगड्नुहोस्। ह्यान्ड स्यानिटाइजरले फोहोर, रसायन र किटाणुलाई पाखा लगाउन सक्दैन। तर केही नभएको अवस्थामा यसले पनि राहत प्रदान गर्दछ।